३१ बैशाख २०८२, बुधबार | Wed May 14 2025


बलिउडमा मनीषाको ‘कमब्याक’, ‘डियर माया’मा यस्तो छ फरक भूमिका


0
Shares

शुक्रबार (आज) रिलिज भएको हिन्दी फिल्म ‘डियर माया’बाट उनी दर्शकमाझ मुख्य भूमिकामा देखिएकी छन् ।

निर्देशक सुनैना भटनागरद्वारा निर्देशित ‘डियर माया’मार्फत् दुई नयाँ कलाकार मदीहा इमाम र श्रेया चौधरीसँगै उनले बलिउडमा कमब्याक गरेकी हुन् ।

मनीषा सन् १९९० को दशकमा ‘बम्बे’, ‘१९४२’, ‘अ लभ स्टोरी’ तथा ‘दिल’जस्ता चर्चित फिल्ममा आफ्नो सौन्र्दय र कलाकारिता देखाएर एकछत्र राज गर्न सफल भएकी थिइन् ।

बलिउडमा निरन्तर २६ वर्षसम्म काम गरेकी उनी फिल्मी जीवनमा निकै आलोचित भएपछि एकाएक हराएकी थिइन् ।

पछिल्लो समय क्यान्सरजस्तो रोगको सफल उपचार र पारिवारिक सम्बन्धमा देखिएको खटपट, श्रीमान्सँगको सम्बन्धबिच्छेदजस्ता समस्यापछि बलिउडमा आफ्नो कलाकारितालाई उनले फिल्म ‘डियर माया’बाटै सुरु गरेकी छन् ।

‘डियर माया’ भारतको सिमलामा बस्ने दुई स्कुले साथीबीचको कथामा आधारित छ । ऐरा र इरा नाम गरेका दुई साथीको छिमेकमा बस्ने माया देवी (मनीषा कोइराला) घरभित्रै चुपचाप एक्लै बस्ने कुरुप जिन्दगी बाँचिरहेकी एक महिलाको भूमिकामा देखिएकी छन् ।

निर्देशक सुनैना भटनागरले ‘डियर माया’ एक ‘स्लो मोसन’मा बगेको कथामा आधारित फरक मानवीय संवेदना र मनोरन्जन दिने नयाँ धारको फिल्म रहेको बताएकी छन् ।

उनले भनिन्–‘यस फिल्मको कथाले दर्शकलाई कौतुहलताको गतिलाई ‘फास्ट मोसन’मा रुपान्तरण गरिदिन्छ ।’

मनीषाले फिल्मको कथावस्तुले आकर्षित गरेकोले आफ्नो रोजाइमा परेको यसअघि नै बताइसकेकी छन् ।

शुक्रबार प्रदर्शनमा आएको यस फिल्मले कति व्यापार गर्ला वा कमाउला भन्दापनि बिल्कुलै नयाँ शैलीमा बनेका र फरक धारको प्रयोग गरिएकाले मनीषाको अभिनयमा कति फरकपन देखिनेछ र उनी कति सफल हुनेछिन् भन्ने महत्वपूर्ण हुने बलिउड विश्लेषकहरुले बताएका छन् ।