३१ बैशाख २०८२, बुधबार | Wed May 14 2025


निकितालाई आत्मविश्वासले दिलायो मिस नेपालको ताज, अब अभिनेत्री बन्ने


0
Shares

संचारमाध्यममा अन्तरबार्ता दिन उनलाई भ्याइनभ्याइ छ साथै फोन र सामाजिक संजालमा बधाई दिने शुभेच्छुकहरुको उस्तै भीड लागेको छ । तर अन्य प्रतिस्पर्धीमध्ये उनमा के गुण र क्षमता थियो भन्ने सर्बत्र चासोको विषय छ ।

धेरै शुभेच्छुक र संचारमाध्यमहरुले उनमा देखिएको आत्मविश्वास नै पहिलो प्राथमिकता मानेका छन् । उर्लाबारी मोरङकी २० बर्षीया निकिताले प्रतियोगितामा परिचय राउन्डदेखि नै आत्मविश्वास झल्काएकी थिइन् ।

प्रमुख निर्णायक नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले ७ जना फाइनल प्रतियोगीलाई ‘तपाईंको विचारमा एउटी नारीले देशको आर्थिक विकासमा कस्तो भूमिका खेल्न सक्छिन् ?’ सोधेका थिए ।

जवाफ दिने क्रममा निकिताको आत्मविश्वास प्रशंसायोग्य थियो । उनले समाजसेवी अनुराधा कोइरालाल, उद्योग बाणिज्य संघकी अध्यक्ष भवानी राणालगायत विभिन्न सक्षम र प्रतिभाशाली महिलाको उदाहरण पेस गर्दै अर्थतन्त्रमा महिलाको भूमिका अहम् हुने बताएकी थिइन् ।

miss4

उनले कुल जनसंख्यामध्ये ५१ प्रतिशत रहेका महिला सबै शिक्षित र आर्थिक रूपले सबल हुन सके देशको विकास हुन समय नलाग्ने धारणा राखेकी थिइन् ।

जवाफको अन्तिममा उनले भनेकी थिइन्, ‘यद्यपि मुलुक विकासमा महिला र पुरुष दुवैको उत्तिकै भूमिका अनिवार्य रहन्छ ।’

दरबार मार्गस्थित होटल अन्नपूर्णमा सम्पन्न प्रतियोगितामा उनले १८ प्रतिपस्र्धीलाई पछि पारिन् ।

पूर्वमिस नेपाल अस्मी श्रेष्ठले आफ्नो शिरको ताज एकपटक चुमेर निकिताको शिरमा पहिर्‍याइदिइन् । शीर्ष ताजसँगै उनले मिस कन्फिडेन्ट र पब्लिक च्वाइस अवार्ड पनि जितिन् ।

रोजिना श्रेष्ठ मिस नेपाल अर्थ, नीति शाह मिस नेपाल इन्टरनेसनल र सहारा बस्नेत मिस एसिया प्यासिफिक इन्टरनेसनल घोषित भए ।

नीतिले मिस फ्यासिनो र मिस कम्प्लेक्सनको टाइटलसमेत पाइन् । सहाराले मिस इन्टेलेक्चुअल टाइटल पनि पाइन् ।

प्रतियोगितामा मिस टयालेन्ट टाइटल नर्मता गुरुङले, मिस फ्रेन्डसिप रोजिना श्रेष्ठले, मिस बेस्ट हेयर वर्षा पोखरेलले, मिस फोटोजेनिक अनुषा लम्सालले, मिस एथलेट मञ्जरी सिंहले र मिस ब्युटी विथ पर्पोसको टाइटल दृष्टि कटवाल पाए ।

प्रतिस्पर्धी नम्बर १४ मा रहेकी ५ फिट ६ इन्च अग्ली निकिताले भारतको नोएडाबाट ब्याचलर्स इन कमर्स गरेकी छिन् ।

नृत्य, गीत तथा मोडलिङमा रुचि राख्ने निकिता समाजसेवामा उत्तिकै अग्रसर छिन् ।

भविष्यमा अभिनेत्री बन्ने लक्ष्य लिएकी निकिता सकारात्मक सोचका कारण जीवनमा सफलता प्राप्त हुने कुरामा विश्वस्त रहेकी छिन् ।

miss3_1