
-अक्कल कुँवर र देवेन्द्र महर्जन(ईमेज)
ऐन संशोधनपछि निर्वाचन आयोगले उम्मेदवार मनोनयनको औपचारिक पत्र प्रदान गर्न अधिकार पाएको दलको पदाधिकारीको दस्तखतको नमूना तीन दिनभित्र पेश गर्न सक्ने व्यवस्था मिलाएको छ ।
व्यवस्थापिका संसदले राष्ट्रिय जनता पार्टी नेपाललाई स्थानीय तह निर्वाचनमा भाग लिन सहज हुने गरी स्थानीय तह निर्वाचन ऐन २०७३ संशोधन गरेको हो ।
संशोधित ऐनअनुसार निर्वाचन आयोगले उम्मेदवार मनोनयनको औपचारिक पत्र प्रदान गर्न अधिकार पाएको सम्बन्धित दलका पदाधिकारीको नाम, थर, पद र निजको दस्तखतको नमुना यही जेठ २९ गतेसम्ममा पेस गर्नसक्ने व्यवस्था मिलाएको छ ।
यसअघि आधिकारीक हस्ताक्षर पठाउनुपर्ने समय १५ दिनको थियो । असन्तुष्ट पक्षलाई पनि निर्वाचनमा सहभागिता सुनिश्चिततको लागि ऐन संशोधन गरिएको जनाइएको छ ।
निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले उम्मेदवार मनोनयनको औपचारिक पत्र प्रदान गर्न अधिकार पाएको सम्बन्धित दलका पदाधिकारीको नाम, थर, पद र निजको दस्तखतको नमुना सम्वन्धमा रहेको प्रावधान संशोधन भएको जानकारी दिए ।
दलहरुलाई निर्वाचनमा सहभागि गराउन स्थानीय तह निर्वाचन ऐन २०७३ संशोधन गरिए पनि चुनाव चिन्ह दिने सम्वन्धमा भने कुनै परिर्वतन भएको छैन् ।
स्थानीय तह निर्वाचन ऐन २०७३ को चुनाव चिन्ह सम्वन्धि व्यवस्थाको कारण नयाँ दलहरुलाई चुनाव चिन्ह दिन कठिनाई भएको हो ।
आयोगका प्रवक्ता शर्माले दलहरुलाई पार्टीगत चुनाव चिन्ह दिन व्यवहारिक र कानुनी रुपमा कठिनाई रहेको जानकारी दिए ।
ऐन संशोधन भएसँगै निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको सन्दर्भमा दस्तखत नमुना पेस गर्न छुटेका राजनीतिक दललाई दस्तखत नमूना पेस गर्न तीन दिनको समय उपलब्ध गराएको छ ।
यस्तै, आयोगले यसअघि दस्तखत पेस गरेका राजनीतिक दलले दस्तखत नमुना परिवर्तन गर्न चाहेमा पनि तीन दिनभित्र परिवर्तन गर्न चाहेको दस्तखतको नमुना आयोगसमक्ष पेस गर्नसक्ने व्यवस्था मिलाएको छ ।
निर्वाचन आयोगमा दर्ता रहेका ११३ राजनीतिक दलमध्ये निर्वाचन प्रयोजनका लागि ८० दलले दल दर्ता गराएकोमा ६३ दलले मात्र स्थानीय तह निर्वाचनका लागि आधिकारिक दस्तखत बुझाएका छन् ।
प्रतिक्रिया दिनुहोस्