Logo ५ पुस २०८२, शनिबार | Sat Dec 20 2025


पूर्वसभासद कुशवाहासहित करिब ५० नेता–कार्यकर्ता माओवादी केन्द्र प्रवेश


0
Shares

अध्यक्ष दाहाल निवास लाजिम्पाटमा सोमबार आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने–‘हामीले निर्वाचनमा अपेक्षाअनुसार विजय हासिल गर्न नसके पनि माओवादी विचार, राजनीति र एजेन्डाले जितेको छ । मुलुकले जितेको छ, यसैमा म खुसी छु ।’

स्थानीय तहको निर्वाचनमा जुन दलले जिते पनि काम भने माओवादी एजेन्डाअनुसार नै गर्नुपर्ने भएकाले स्थानीय तहमा जनताका पक्षमा काम गराउने वातावरण बनाउन पार्टीका नेता तथा कार्यकर्तालाई उनले निर्देशन दिए ।

ढिलो वा चाँडो सबै माओवादीहरु एकठाउँ आएर देशको नेतृत्व लिनुपर्ने बताउँदै नेता दाहालले भने–‘सबै माओवादी घर फर्किनुको विकल्प छैन । बाबुरामजी पनि छिट्टै फर्कनुपर्छ, सबै नेता फर्केपछि एक्लै फर्कनुको अर्थ पनि रहँदैन । सबै माओवादी मिलेरमात्रै परिवर्तनलाई संस्थागत गर्न सकिन्छ ।’

सो अवसरमा पूर्वसभासद एवं नयाँ शक्ति नेपालका नेता शिवचन्द्र कुशवाहासहितका करिब ५० नेता–कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

माओवादी केन्द्रमा प्रवेश गर्ने अन्य नेतामा नेकपा एमालेका रौतहट जिल्ला समिति सदस्य एवं पूर्वगाविस अध्यक्ष गौरीशंकर जयसवाल, नेकपाका रौतहट सचिव नन्दलाल ठाकुरलगायत छन् ।

सो कार्यक्रममा नयाँ शक्तिका केन्द्रीय नेता तथा पूर्वसभासद् कुशवाहाले माक्र्सवादी विचार, क्रान्तिकारी सिद्धान्त र जनताप्रतिको जिम्मेवारी भुल्न नसकेर आफू माओवादी केन्द्रमा फर्किएको बताए ।

एमाले जिल्ला समिति सदस्य जयसवालले एमालेमा फरक मत, विचार, आस्था र भावनाको सम्मान हुने परिस्थिति नरहेको बताए । रासस