प्रधानमन्त्री शेरबहादुर देउवासहित प्रमुख तीन दल नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्रका नेताहरुको प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैंठकमा सत्तारुढ दलले संसदमा बिचाराधीन रहेको संविधान संशोधनमा सघाउन एमालेसँग आग्रह गरेको थियो ।
एमालेले तीन तहकै निर्वाचन सम्पन्न भएपछि मात्र संशोधनमा छलफल गर्न सकिने पूर्ववत अडान दोहोर्याएको थियो ।
प्रधानमन्त्री देउवाले राष्ट्रिय जनता पार्टीलाई निर्वाचनमा सहभागि गराउनको लागि संविधान संशोधन आवश्यक भएकाले एमालेलाई लचिलो हुन आग्रह गरेका थिए ।
बैंठकपछि एमाले उपाध्यक्ष भीम रावलले संविधान संशोधन पारित गराउन सत्तारुढ दलले राखेको प्रस्तावमा छलफल भए पनि निश्कर्षमा पुग्न नसकेको बताए ।
सत्तारुढ दल नेपाली कांगे्रस र माओवादी केन्द्रका नेताहरुले भने एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीसंग फेरि पनि छलफल गरी निश्कर्षमा पुग्ने बताए ।
एमालेसँग भएको छलफलबारे राजपासंग छलफल गर्ने र पारित नहुने अवस्थामा संशोधन प्रस्ताव अगाडि नबढाउने निश्कर्षमा सत्तारुढ दल पुगेको जानकारी गराएका छन् ।
सत्तारुढ दलले मंसीरभित्र बाँकी दुई तहका निर्वाचन सम्पन्न गर्नको लागि तयारी गरी रहेको जानकारी गराएका थिए ।
बैंठकमा निर्वाचन क्षेत्र निर्धारण आयोग अविलम्ब गठन गर्ने बिषयमा पनि छलफल भएको थियो ।





प्रतिक्रिया दिनुहोस्