Logo २५ माघ २०८२, आइतबार | Mon Feb 9 2026


अष्ट्रेलिया गुन्जाउँदै नेपथ्य, कहाँ-कहाँ हुँदैछ कन्सर्ट ?


0
Shares

त्यहाँ बसोबास गर्दै आएका नेपालीहरुको रोजाइमा परेपछि केहि वर्षयता नेपथ्यले लगातार श्रृंखलावद्ध प्रस्तुती लिएर त्यस मुलुकको यात्रा गर्दै आएको छ ।

विनेपाली डटकमले पोष्ट गरेको समाचार अनुसार यो वर्षको पहिलो नेपथ्य कन्सर्ट भने भिक्टोरियाको मेलबोर्न सहरमा हुनेछ ।

त्यहाँस्थित यती एफसीको आयोजनामा जुलाइ ८ तारिखका दिन नेपाली लोक-रकको चिरपरिचित स्वर नेपथ्यले गुञ्जाउने छ । उक्त सहरस्थित प्लानेट सेकर्सको हलमा त्यस दिन कन्सर्ट तय गरिएको छ ।

मेलबोर्नपछि भने नेपथ्यले एडिलेड सहरतर्फको यात्रा गर्नेछ । ‘थ्री केजी इन्टरटेनमेन्ट’ को आयोजनामा त्यहाँ जुलाइ १५ तारिखका दिन नेपथ्यका गीतहरु सुनाइने छन् ।

उक्त सहरको नरउड कन्सर्ट हलमा कार्यक्रम आयोजना हुनेछ । त्यसपछि भने नेपथ्य पृथ्वीको दक्षिणी गोलार्धमै उसका सबैभन्दा धेरै प्रशंसकहरुले भरिएको सहर सिड्नीमा पुग्नेछ ।

अष्ट्रेलियाकै पहिलो राज्य न्यूसाउथ वेल्सको राजधानी एवं आर्थिक केन्द्र सिड्नीमा ब्याण्डले जुलाइ २२ तारिखको दिन आफूलाई प्रस्तुत गर्नेछ ।

सँधैझैं नेपथ्यको पुरानो मित्र ‘म्याग्दी ओभरसिज’ले आयोजना गर्ने यो कन्सर्ट प्रसिद्ध हार्बर ब्रिजकै छेउमा रहेको ‘लुना पार्क’ स्थित बिग टप अडिटोरियममा आयोजना हुनेछ ।

नेपथ्यले यसअघि पनि उक्त हलमा आफुलाई प्रस्तुत गरिसकेको छ ।

‘केहि वर्षअघि सिड्नीको टाउनहलमा नेपथ्यले गरेको भब्य कन्सर्टका बेला सम्पूर्ण टिकट विक्री भएको थियो त्यसयता हामीले अझ ठूलो स्थानमा कार्यक्रम राखेका छौं’, सिड्नीस्थित आयोजक हरि राम्जाली भन्छन्, ‘सिड्नीको विख्यात लुनापार्कस्थित बिग टप अडिटोरियम प्रतिष्ठित आयोजनास्थल हो जसको २८ सय क्षमताका सबै टिकट विक्री हुनेमा हामी ढुक्क छौं ।’

‘स्रोता-दर्शकहरुको अपार माया पाउँदै आएको अष्ट्रेलियामा प्रस्तुतीका निम्ति सँधैजस्तै यसपाला पनि हामीले विशेष तवरबाट गीतहरु छनौट गरेका छौं’, नेपथ्यका मुख्य गायक एवं अगुवा अमृत गुरुङ भन्छन्, ‘हामी अष्ट्रेलियाका हरेक प्रस्तुतीलाई अविस्मरणीय बनाउन चाहन्छौं ।’

संयोगले यो वर्ष नेपथ्यले आफ्नो स्थापनाको रजत वर्ष मनाइरहेको बेला पनि परेको छ । यस्तोमा आफ्नो घर परिवार र समाजभन्दा टाढा रहेका नेपालीहरुलाई स्वदेशको माया पस्कने जानकारी पनि अमृतले दिए ।

अमृतलाई यो यात्रामा पनि सँधैजस्तै ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, गितारमा निरज गुरुङ, बेस गितारमा सुविन शाक्य र मादलमा शान्ति रायमाझीले सघाउने छन् ।

अष्ट्रेलिया यात्रामा नेपथ्यसगैं ४ जना व्यवस्थापक र प्राबिधिक टोलीसहित १० जनाको सहभागिता छ ।