पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी केन्द्रीय कार्यालयको सचिवालयको बैठकमा धारणा राख्ने अधिकांश नेताले माओवादी पार्टी जनताको बलमा स्थापित भएपनि आचरण र सांगठनिक संरचना पुँजीवादी शैलीको भएको र केही नेता पनि सामन्तवादी शैलीको भएको बताउँदै कार्यशैलीसमेत सुधार गर्नुपर्ने टिप्पणी गरेका थिए ।
नेताहरुले स्थानीय तहको निर्वाचनबाट पार्टी स्थापित हुने चरणमा प्रवेश गरेकाले निराश हुनुपर्ने अवस्था नभएको उल्लेख गरे ।
स्थानीय तहको निर्वाचनमा माओवादीले ८४ स्थानमा विजय हासिल गरेको, ८५ स्थानमा दोस्रो भएको तथा ३० भन्दा बढी स्थानमा केही मतलेमात्रै पराजित भएकाले आत्तिहाल्ने अवस्था छैन भन्दै नेताले शीर्ष नेतृत्वले आँट गर्ने हो भने आगामी निर्वाचनमा एकदमै राम्रो परिणाम हासिल हुने बताए ।
बैठकमा नेता नारायणकाजी श्रेष्ठले पार्टीलाई सामूहिक नेतृत्व प्रणालीमा चलाउनुपर्ने तथा कार्यदिशा र नीतिमासमेत एकरुपता दिनुपर्ने बताए ।
उनले नेतृत्वलाई सचेत बनाउनुपर्ने र गलत कार्यको विरोध गर्ने संस्कारसमेत स्थापित हुनुपर्नेमा जोड दिँदै कसैको अतिप्रशंसा र कसैलाई खुल्याउने प्रवृत्ति गलत रहेको स्पस्ट गरे ।
नेता टोपबहादुर रायमाझीले गुटबन्दीले पार्टीलाई समस्यामा पारेकाले त्यसको समूल अन्त्यका लागि आफू लागिपरेको बताउँदै आफू संसदीय दलको उपनेता भएपनि केही निर्णयमा आफूलाईसमेत थाहा नहुने गरेको गुनासो गरे ।
अर्का नेता टंक राईले माओवादीका कार्यकर्ता असाध्यै इमान्दार रहेको देखेर नै आफू एकता प्रक्रियामा आएकाले संगठन निर्माणमा विशेष जोड दिनुपर्ने बताए ।
नेता गिरिराजमणि पोखरेलले विचार, संगठन र कार्यदिशालाई इमान्दारीपूवर्क लिएर जानेतर्फ सबै नेता तथा कार्यकर्ताले सचेत पहल गर्नुपर्ने धारणा राखे ।
धारणा राख्नेक्रम जारी रहेकाले शनिबार पुनः बैठक बस्ने प्रवक्ता पम्फा भुसालले जानकारी दिइन् । रासस





प्रतिक्रिया दिनुहोस्