सांसदहरुले उत्तरी नाकामा सिन्धुपाल्चोकमा बाढीले लाप्चा पुल भत्केको सम्बन्धमा सरकारको ध्यानाकर्षण गराउँदै तत्काल वैकल्पिक व्यवस्था गर्न माग गरे ।
सांसद मोहन बस्नेतले सिन्धुपाल्चोकमा भूकम्पसँगै बाढी र पहिरोले पनि क्षति पुर्याएको भन्दै उत्तरी सिमानामा जोडिएको मानसरोवर जाने नाका बिच्छेद भएको जानकारी गराए ।
उनले तत्काल बेलिब्रिजको व्यवस्था गरी स्थानीयवासीको आवागमनलाई सहज बनाउन सरकारको ध्यानाकर्षण गराए ।
सांसद अनिता देवकोटाले दाङको राप्ती क्षेत्रीय अस्पताल स्वास्थ्य विज्ञान प्रतिष्ठान गठन प्रक्रिया अघि बढाउन ढिलाइ भएको भन्दै प्रश्न गरिन् ।
सांसद कमलप्रसाद पंगेनीले स्थानीय तहमा बजेट जानु स्वभाविक भएपनि यसअघिका चालू केन्द्रीय योजनाकाबारेमा ठोस व्यवस्था नभएकोप्रति सरकारको ध्यानाकर्षण गराए ।
सांसद कल्पना शर्मा जोशीले पोखरा–बागलुङ राजमार्ग ३१ मिटर फराकिलो बनाउनेक्रममा केही जलविद्युत् आयोजना र क्याम्पसमा क्षति हुने भएकाले त्यसको वैकल्पिक व्यवस्था गर्न माग गरिन् ।
सांसद कान्ता भट्टराईले भूकम्पपछि पुनःनिर्माण हुन नसकेर पुनःनिर्माण प्राधिकरणको रु ४१ अर्ब बजेट फ्रिज भएकोप्रति प्रश्न गरिन् ।
सांसद लक्ष्मी राईले भोजपुरको अरुण गाउँपालिकामा तीन बालिकाको हत्या भएको घटनाका सम्बन्धमा सुरक्षा निकायबीच नै आपसी समन्वय हुन नसकेकोप्रति त्यसको उचित छानबिन गर्न सरकारको ध्यानाकर्षण गराए ।
सांसद युवराज ज्ञवालीले सिमाना विवादले भारत र चीनबीचको द्वन्द्वको अवस्थामा भैपरी आउने सम्भावित अवस्थाकाबारेमा नेपालले केही नगरेकोप्रति सजग गराउँदै सरकारले सबै दलको सहमतिमा साझा धारणा बनाउन आवश्यक रहेको बताए ।
सांसद दुलारी हरिजनले स्थानीय तहको निर्वाचनसँगै स्थानीयवासीका हक–अधिकार स्थापित भएपनि दलितप्रतिको छुवाछूत कायमै रहेको भन्दै त्यस्ता व्यक्तिलाई कानुनी दायरामा ल्याउन माग गरे ।
सांसद लीलादेवी श्रेष्ठले दक्षिण सिमानामा नेपालको ६० हजार हेक्टरभन्दा बढी जमिन मिचिएको भन्दै त्यसको कुनै सुनुवाइ नभएको भन्दै सरकारको ध्यानाकर्षण गराए ।
सांसद महेन्द्रराय यादवले राष्ट्रिय जनता पार्टी नेपालले सरकारलाई समर्थन दिएको १२ महिना बित्दा पनि माग सुनुवाइ नभएको भन्दै संविधान संशोधन प्रक्रिया अघि बढाएर अविलम्ब पारित गर्न माग गरे ।
सांसद डा. सुबोधकुमार पोखरेलले निर्वाचनमा धाँधली भएको सम्बन्धमा छानबिन गर्न गठन भएको संसदीय समितिका काम–कारबाही अघि नबढेको गुनासो गरे ।
सांसद कमला विश्वकर्माले जातीय छुवाछूतका घटना बढ्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै ऐन कानुन भएपनि कार्यान्वयन नहुँदा अपराधीले प्रश्रय पाइरहेका भन्दै सरकारको ध्यानाकर्षण गराइन् ।
सांसद डिल्लीप्रसाद काफ्लेले सरकारी शैक्षिक संस्थाको गुणस्तर खस्कँदो अवस्थामा भएकाले त्यसलाई सुधार्न माग गरे ।
सांसद मीना पुनले बाग्लुङमा सोमबार भएको जिप दुर्घटनाप्रति दुःख व्यक्त गर्दै ग्रामीण क्षेत्रका साँघुरा बाटा र पुराना गाडीका कारण दुर्घटना बढेको भन्दै सरकारको ध्यानाकर्षण गराइन् ।
बैठकमा सांसद लक्ष्मण राजवंशी, शारदा पौडेल, अमृतकुमार बोहरा, विशाल भट्टराई, अकवाल अहमद साहलगायतले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए । रासस





प्रतिक्रिया दिनुहोस्