संविधानप्रति असन्तुष्ट पक्षलाई सहमतिमा ल्याउने भन्दै गत चैत २९ गते संविधान संशोधन विधेयक संसदमा दर्ता गरिएको थियो ।
सरकारले संविधानको दोस्रो संशोधन विधेयक फिर्ता लिइ प्रदेशको सीमांकन हेरफेरबाहेकका विषयमा नयाँ संशोधन विधेयक दर्ता गरेको थियो । तर, संविधान संशोधन विधेयक अहिले पनि संसदमा विचाराधीन नै छ ।
सरकारको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसले उक्त विधेयकलाई प्रक्रियामा लैजाने निर्णय गरेको छ । कांग्रेसले प्रदेश नम्बर–२ को स्थानीय तह निर्वाचनअघि नै विधेयक प्रक्रियामा लैजाने जनाएको छ ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी साउद असन्तुष्ट पक्षलाई समेट्न संविधान संशोधन अनिवार्य रहेको भन्दै अब छिट्टै प्रक्रियामा जाने बताउँछन् ।
संविधान संशोधनका लागि प्रतिपक्ष दल र राष्ट्रिय जनता पार्टी पनि इमान्दार हुनुपर्ने साउदको भनाइ छ ।
यता, राष्ट्रिय जनता पार्टीले संशोधन विधेयक पारित गर्ने जिम्मेवारी सरकारको भएको बताउँदै आएको छ ।
सरकारले इमान्दारितापूर्वक संशोधन विधेयक पारित गर्न प्रयास गरे परिणाम स्वीकार्न तयार रहेको बताउँछन्, राजपा नेता केशव झा ।
त्यसो त सरकारसँग तत्कालै दुई तिहाइ मत पुर्याएर विधेयक पारित गराउने सामर्थ्य छैन ।
संसदमा ३७ सदस्य रहेको राप्रपाले अहिले पनि संशोधनबारे स्पस्ट पार्न सकेको छैन । राप्रपा एकढिक्का भएर संशोधनको पक्षमा नउभिएसम्म संशोधन पारित हुने अवस्था छैन ।
भिडियो हेर्नुहोस्









प्रतिक्रिया दिनुहोस्