Logo ६ पुस २०८२, आइतबार | Sun Dec 21 2025


अध्यक्ष दाहाल डा. भट्टराईलाई भेट्न अस्पतालमा, छिट्टै नयाँ छलफल सुरु हुने


0
Shares

 मध्यपुरथिमि, गठ्ठाघरस्थित नागरिक कम्युनिटी अस्पतालमा गत शुक्रबार प्रोष्टेट ग्ल्याण्ड मूत्रथैलीको शल्यक्रिया गरी उपचारार्थ भर्ना भएका डा भट्टराईको स्वास्थ्य अवस्था बुझ्न आज अपराह्न अस्पताल पुगेका नेता दाहालले रासससँग भने, “डा भट्टराईसँगको भेटमा गम्भीर छलफल भएको छ, अब छिट्टै एउटा नयाँ छलफलको प्रक्रिया प्रारम्भ हुन्छ भन्ने मलाई विश्वास छ ।”

पूर्वप्रधानमन्त्री दाहालले पूर्वप्रधानमन्त्री डा भट्टराईको उपचारमा संलग्न चिकित्सकसँग स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै उनको शीघ्र स्वास्थ्यलाभको कामना गरेका थिए ।

शल्यक्रियामा संलग्न प्रा डा राकेश बर्मासँग करिब १५ मिनेट जानकारी लिएपछि दुवै नेताबीच मात्रै करिब आधा घण्टा छुट्टै छलफल भएको थियो ।

अस्पतालमा उपचार गराइरहेका डा भट्टराईसँगको भेटपछि कुरा गर्दैै अध्यक्ष दाहालले उनको उपचारको क्रम चलिरहेको रस्वास्थ्यमा क्रमिक सुधार भइरहेको चिकित्सकको भनाइ रहेको उल्लेख गर्दै उनी छिट्टै घर फर्किने विश्वास व्यक्त गरे ।

करिब एक वर्षदेखि नियमित रुपमा डा भट्टराईको मूत्रथैलीको परीक्षण आफूले गरिरहेको बताउँदै प्रा डा. बर्माले हाल पिसाबमा बढी खराबी आएका कारण शल्यक्रिया गरिएको बताए ।

शल्यक्रियापछि तीन दिनसम्म पिसाब नलीमा पाइप राखेर आज बिहान निकालिएको अस्पतालको मेट्रोन सुन्दरी जोशीले जानकारी दिए ।

अस्पतालका अध्यक्ष पुष्पमान अमात्यले विदेशमा हुने कतिपय उपचार यहीँ हुने भएकाले स्वदेशमै नेताहरुले उपचार गराउनुपर्ने बताए ।

डा भट्टराईको स्वास्थ्य अवस्थाबारे जानकारी लिन सोमबार राति सभामुख ओनसरी घर्ती पनि पुगेका थिए ।

अस्पतालका निर्देशक श्रीभक्त कासिछ्वाले डा भट्टराईको उपचार बुधबारसम्म चल्ने र अपराह्न २ बजे घर फिर्ता पठाइने जानकारी दिए । रासस