नेकपा माओवादी केन्द्र प्रदेश नम्बर–३ अन्तर्गत्का केन्द्रीय महाधिवेशन आयोजक समिति सदस्यका लागि मंगलबार राजधानीमा आयोजना गरिएको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिलेको निर्वाचन प्रणालीले गरिब, उत्पीडितले निर्वाचन जित्न नसक्ने भएकाले निर्वाचन प्रणाली बदल्नुपर्ने बताए ।
अध्यक्ष दाहालले भने–‘भर्खरै ६ प्रदेशमा स्थानीय तहको निर्वाचन सम्पन्न भएको छ । एउटा गाउँपालिका जित्न रु चार/पाँच करोड खर्च भएको छ, यो सामान्य कुरा होइन । बिहान–बेलुका छाक टार्न मुस्किल हुनेले क्षमता र जनविश्वास भएर पनि निर्वाचन जित्न सक्दैनन् ।’
‘धनीलेमात्र जित्ने, प्रतिभा एवं जनसमर्थन भएरपनि गरिबले हार्ने निर्वाचन प्रणाली कायम भएकाले यसलाई बदल्नुको विकल्प छैन’–उनले भने–‘पार्टीबीच चुनावमा प्रतिस्पर्धा हुने पूर्ण समानुपातिक प्रणालीलेमात्र निर्वाचनमा देखिएको आर्थिक अराजकता र विकृतिलाई रोक्न सकिन्छ ।’
उनले माओवादी र देशभक्तको एकताको नेतृत्व माओवादी केन्द्रले गर्नुपर्नेमा जोड दिँदै भने–‘माओवादी धारका सबै शक्ति निर्वाचन लड्यौं । तर, जनताले हामी सबैलाई मिल भन्ने सन्देश दिएका छन् । अब मिल्नुको कुनै विकल्प छैन ।’
नेपाली जनताले एकताका लागि पहल गर भन्ने सन्देश दिएको उल्लेख गर्दै उनले जनआवाजलाई बुझेर सबै माओवादी धार र देशभक्त एक हुनुको विकल्प नरहेको बताए ।
आफ्नो पार्टीको मूल समस्या वैचारिक अस्पष्टता र संगठनात्मक समस्या नै भएको जानकारी दिँदै उनले ‘विचारमा धारिलो भएपछि संगठनलाई गतिशील बनाउन सक्नेगरी आवश्यक तयारी गरिएको छ’–भने ।
माओवादी नभएको भए स्थानीय तह र निर्वाचन दुवै नहुने भन्दै उनले भने–‘हामी नभएको भए स्थानीय तह हुँदैनथ्यो, निर्वाचन पनि हुँदैनथ्यो । तर, यसलाई उल्टाउने कोसिस पनि भइरहेको छ ।’
प्रतिगामी शक्तिको बल पुग्यो भने संघीय लोकतान्त्रिक गणतन्त्र नै उल्टाउने र त्यही आडमा धर्मनिरपेक्षतालगायतका परिवर्तनका एजेन्डासमेत धरापमा पार्ने खेल भइरहेको अध्यक्ष दाहालको कथन थियो ।
‘राष्ट्रिय समाजवादकै नारा दिएर जर्मनीमा फासीवादको अभ्यास भएको’ भन्दै उनले मुलुकमा पनि राष्ट्रियताका नाममा पहाडी र मधेसीको नाममा खेल्न खोजिएको बताए ।
राष्ट्रवादका नाममा नश्लवाद हुँदै फासीवादको अभ्यास गर्न खोजिएको भन्दै उनले अन्ध राष्ट्रवादले मुलुकलाई नै दुर्घटनामा लैजाने भयानक खतरा रहेको उल्लेख गरे ।
माओवादीसँग सहकार्य गर्ने शक्तिले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख मान्नुपर्ने र आफैंले मानेको एजेन्डा फेर्ने नैतिक अधिकारसमेत कांग्रेस–एमालेलाई नभएको स्पस्ट पारे ।
हिमाल, पहाड र तराई–मधेसलाई जोड्नसक्ने एजेन्डा भनेकै प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको एजेन्डा रहेको उनको कथन थियो ।
प्रशिक्षण कार्यक्रममा नेताहरु नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा, अग्नि सापकोटा, पम्फा भुसाल, हितमान शाक्य, विश्वभक्त दुलाल, नारायण दाहाल, सूर्य सुवेदी, अञ्जना बिशंखेलगायतको उपस्थिति थियो । रासस





प्रतिक्रिया दिनुहोस्