Logo २८ कार्तिक २०८३, शनिबार | Sat, Nov 14, 2026


एमालेको ‘दम्भ र अहंकार’का कारण संविधान संशोधन विफल : माओवादी केन्द्र


0
Shares

पार्टी अध्यक्ष दाहालको निवास लाजिम्पाटमा मंगलबार बसेको केन्द्रीय कार्यालयको बैठकले स्थानीय तहको निर्वाचनलाई भव्य र सभ्य बनाउनका लागि पार्टीको सम्पूर्ण पंक्ति परिचालन गर्ने निर्णय गरेको हो ।

प्रवक्ता पम्फा भुसालले स्थानीय तहको पहिलो र दोस्रो चरणको निर्वाचनमा प्राप्त शिक्षाका आधारमा २ नम्बर प्रदेशको निर्वाचनलाई थप प्रभावकारी बनाउन पार्टीका तर्फबाट सम्पूर्ण शक्ति परिचालन गर्ने र पहिलो पार्टीकारुपमा स्थापित हुने गरी कार्ययोजनासमेत तयार पारिने जानकारी दिइन् ।

माओवादीले यसअघि नै नेता नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा, हरिबोल गजुरेल, गिरिराजमणि पोखरेल, मातृका यादवलगायतलाई निर्वाचनका विषयमा आवश्यक तयारी गर्न केन्द्रीय प्रतिनिधि परिचालन गरेको थियो ।

यस्तै, प्राकृतिक विपत्तिमा परेकालाई तत्काल राहत उपलब्ध गराउन र उचित बसोबासका लागि तत्कालीन राहत रु एक लाख, मृतक परिवारलाई रु तीन लाख र क्षतिपूर्ति तथा पुनःस्थापनाका लागि रु पाँच लाख उपलब्ध गराउन माग गरिएको प्रवक्ता भुसालले जानकारी दिइन् ।

बाढी–पहिरो प्रभावितलाई राहत उपलब्ध गराउनु सरकारको प्रमुख दायित्व भएको ठहर गर्दै माओवादी केन्द्रले प्रभावित क्षेत्रका जनतालाई सहयोग गर्न पार्टी पंक्तिलाई निर्देशन दिएको छ ।

यस्तै, माओवादी केन्द्रले आदिवासी, जनजाति, मधेसी, महिला र दलित समुदायलाई अधिकारसम्पन्न बनाउन संविधान संशोधन अत्यावश्यक रहे पनि प्रमुख प्रतिपक्षी नेकपा एमालेको ‘दम्भ र अहंकार’का कारण सफल हुन नसकेको ठहर गरेको छ ।

‘जनतालाई अधिकार दिन एमाले र त्यसको प्रमुख नेतृत्व जुन तवरले नकारात्मक भयो, त्यसले मुलुकलाई अग्रगमनको दिशामा लैजान बाधा खडा गरेको छ’–भुसालले भनिन्–‘सरकार र सरकारमा रहेका दलले सकारात्मक प्रयास र पहल गरे पनि मुलुकको आवश्यकतालाई ध्यान नदिइनु गलत देखिएको छ ।’

माओवादी केन्द्रले जनताको अधिकार प्राप्तिको संघर्षलाई निरन्तर अगाडि बढाउने निर्णयसमेत गरेको छ । रासस

Skip This