
काठमाडौं । तीन दशकको सांगीतिक यात्राका लोकप्रिय गीतहरु प्रस्तुत गर्दै संगीतकार मनराजा नकर्मी एकल साँझ सम्पन्न भएको छ ।
लोकप्रिय गायक गायिकाहरुले उनका सार्वजनिक भएका दुई दर्जन गीति संग्रहका चुनिएका २१ गीतहरु प्रज्ञाभवनको डबलीमा प्रस्तुत गरेका छन् ।
कार्यक्रममा संयोजक मंगल महर्जनको स्वागत मन्तब्य लगत्तै मनराजाको आलापबाट शुरु भएको सांगीतिक प्रस्तुतिमा दिनेशराज रेग्मीको संयोजकत्वमा २० जना वाद्यवादकहरुको साथ रहेको थियो ।
सृजना शक्ति बृद्धि होस् भन्ने कामनाका साथ आयोजक नेपालमण्डल टेलिभिजनको संचालक समितिले कार्यक्रमका सहयोगी र सहजकर्ताहरुको उपस्थितिमा संगीतकार मनराजालाई सम्मान गरे ।
सम्मानपत्र प्रदान गर्दै कलाको माध्यमबाट सेवारत परिवारको एक प्रतिभा मनराजाको एकल साँझ आयोजना गर्वको विषय भएको नेपालमण्डल टेलिभिजनका प्रवन्ध निर्देशक प्रकाशकाजी डंगोलले बताए ।
कार्यक्रममा तुलसी नारायण महर्जनको शब्दमा संगीता राना प्रधानको स्वरमा “कलाकार हुँ म संगीतको पुजारी”, आनन्दरत्न बज्राचार्यको रचनामा टिका प्रसाई र राम चन्द्र काफ्लेको आवाजमा “प्यारी प्यारी तिमीलाई आज मेरो गाउँ घुमाउँछु”, डा. सुनलाल थापाको रचना, यम बरालको आवाजमा “उदास मनहरुमा तिमी गीत बनि आउन”, डा. रामविक्रम सिँजापतिको रचना, विश्व नेपालीको आवाजमा “एक्लो पनलाई बिताउन भयो अति साह्रो भयो” गीत प्रस्तुत भए ।
यसरी नै सुरेन्द्र रानाको शब्द रचनामा सृजित “अँगालेमा तिमी आउन चोखो माया लाउन” गीत सन्तोष लामाले प्रस्तुत गरेका थिए भने मदनकृष्ण श्रेष्ठले कवि दुर्गालाल श्रेष्ठको रचना “अन्जानैमा तिमीसित कस्तो माया लाए” सुनाए ।
प्रकाश तिमल्सिनाले रमेश गाउँलेको रचना “तिमीलाई भेट्ने”, नीशा देसारले सुरेशकुमार कार्कीको रचना “सँधै तिमी” सरीता शाहीले नातिबज्र बज्राचार्यको रचना नेपालभाषाको गीत “छं ब्यूगु मतिना” आनन्द कार्कीले राजुकमार दुःखीको रचना “कस्तो के के कुरा सुनी” र यादव खरेलको रचना “समर जित्न सारा होला”, संगीता थापा शाक्यले डा. दीर्घसिँह बमको रचना “मनको ब्यथा”, स्वयम्भूराज शाक्यले हेमन्त विवशको रचना “जब जून देख्दछु”, दीपक लिम्बुले देवदत्त भट्टको रचना “जति हेर्यो, उति राम्रो”, मनुका पौडेले रिमा गुरुङको आवाजमा सार्वजनिक भएको डा. कृष्णहरी बरालको रचना “भमराले फूलसँग सम्बन्ध तोडेजस्तो” सुनाए ।
गीत प्रस्तुतिकै क्रममा जुजुकाजी रंजित र रमना श्रेष्ठले भीमबहादुर नकर्मीको रचना रहेको नेपालभाषाको गीत “मिखाया अजलं छंगु”, धनबहादुर गोपालीले मनराजा नकर्मीकै रचना नेपालभाषाको गीत “खनेवं छाय् थें मस्यू” र रत्नशोभा महर्जनले केशवराज राजभण्डारीको रचना “धक धक धक धक धड्कीरह्यो” गीत प्रस्तुत गरेका थिए ।
कार्यक्रममा मोहन ब्यञ्जनकार निर्देशित मनराजाकै संगीतमा सृजित लोकप्रिय गीतहरुमा नृत्यहरु पनि प्रस्तुत गरिए । चर्चित गीत “मुसुक्क न्हिला”मा न्हूजः ब्यञ्जनकार र विनिता महर्जनले नृत्य प्रस्तुत गरे ।
अञ्जला नकर्मी र सर्वप्रतिक कसजुले “नितोलाया सुरही” गीतमा तथा चर्चित नायिका आशिष्मा नकर्मी चर्चित नेपालभाषाका गीतहरु “लिक्क वया” र “मैंचाया सपलय् च्वंगु स्वां” गीतमा नृत्य प्रस्तुत गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्