विभिन्न राजनीतिक दलहरु आयोग परिसर बहादुर भवन पुगेर आइतबार दल दर्ता गराएका छन् । आयोगले दल दर्ताका लागि आजसम्मको समय तोकेको थियो ।
व्यवस्थापिका–संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका नेताहरु दल दर्ताका लागि आइतबारै आयोग पुगे । कांग्रेसले ७९ नम्बरमा दल दर्ता गराएको छ ।
दल दर्ता गराएलगत्तै पार्टी कार्यबाहक सभापति विमलेन्द्र निधिले २ नम्बर प्रदेशको स्थानीय तह, प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा कांग्रेस पहिलो हुने दाबी गरे ।
उनले निर्वाचन आयोगलाई अपुग रहेका कानुनहरु छिट्टै नै संसदबाट पारित गरिने बताए ।
२ नम्बर प्रदेश बाढी र डुबानबाट प्रभावित भएपनि निर्वाचनका लागि भने यसले कुनै असर नपर्ने उनको भनाइ थियो ।
आइतबारै राष्ट्रिय प्रजातन्त्र पार्टीका दुबै समूहले पनि निर्वाचन आयोगमा दल दर्ता गराएका छन् ।
दुबै राप्रपाले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन प्रयोजनका लागि आइतबार दल दर्ता गराएको हुन् ।
यसअघि नै नेकपा एमाले र माओवादी केन्द्रजस्ता ठूला दलले आफ्नो दल दर्ता गराइसकेका छन् ।
संविधानका कतिपय प्रावधानमा विमति राख्दै स्थानीय तहको दुई चरणको निर्वाचन बहिस्कार गरेको राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले पनि स्थानीय, प्रदेश र प्रतिनिधिसभा प्रयोजनका लागि दल दर्ता गराइसकेका छन् ।





प्रतिक्रिया दिनुहोस्