
-कविराज घिमिरे/ईमेज
धनकुटा । नेपाली कला संस्कृतिको झल्को दिने नौमती बाजाको प्रयोग कम हुँदै गएको छ ।
बाजा बजाउने कालीगढ अभाव र युवापुस्ताको बेवास्ताका कारण नौमती बाजा बिस्तारै लोप हुने अवस्थामा पुगेको छ ।
तर, धनकुटाको छथरजोरपाटी गाउँपालिकाका स्थानीयवासी भने एकजुट बनेर बाजा संरक्षणमा लागेका छन् ।
धेरै ठाउँमा हराउँदै गएको नौमती बाजा धनकुटाका नाम्जाङ्गवासी भने गाउँघरमा हुने हरेक शुभकार्यमा नौमती बाजा बजाउन खासै छुटाउँदैनन् ।
कला संस्कृतिको आकाशमा बेग्लै पहिचान बोकका यी बाजा उत्सव, मेला, पर्व, विवाह, व्रतवन्ध लगायतका विशेष कार्यमा यहाँका स्थानीयले घन्काउने गर्छन् ।
तिहारको बेला देउँसीभैलोबाट उठेको रकमले बाजा खरिद गरेका गाउँलेले यसको संरक्षणका लागि समिति नै गठन गरेको समितिका अध्यक्ष दीपक गुरुङ बताउँछन् ।
३ क्लबमा आबद्ध सदस्यहरुले नौमती बाजा बजाउने तालिम पनि लिइसकेका छन् । नेपाली कला संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले यस्तो अभियान चलाइएको हो ।
पञ्चेबाजाको ठूलो रुप मानिने नौमतिबाजामा ९ वटा बाजाहरु समावेश हुन्छन् ।
महिला र पुरुषरु मिलेर बाजा बजाउने गर्दछन् । महिलाहरुले समेत वाजा बजाउन थालेपछि आफुहरु निक्कै उत्साहित भएको स्थानिय नेत्र कुमारी काफ्लेको भनाइ छ ।
बाजा बजाउन कुशल मानिने दमाइ जातीको यस गाउँमा बसोबास छैन ।
एउटा जातीविशेषको मात्र नभई सम्पूर्ण नेपालीहरुको बाजा भएकाले यसको संरक्षणमा सबैजना जुटेका छन् ।
प्रतिक्रिया दिनुहोस्