स्थानीय तहअन्तर्गत् प्रदेश नम्बर–२ मा हुन लागेको तेस्रो चरणको निर्वाचनको पूर्वसन्ध्यामा शनिबार राजधानीमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले स्थानीय, प्रदेश र प्रतिनिधिसभाको निर्वाचन एमालेले जित्नुपर्ने बताए ।
‘नेकपा एमालेले प्रदेश नम्बर–२ मा बहुमत ल्याएर प्रदेश सरकार बनाउनुपर्छ’–अध्यक्ष ओलीले भने ।
अध्यक्ष ओलीले नेकपा एमालेकाबारेमा प्रदेश नम्बर–२ मा झुट फैलाइएको भन्दै त्यसलाई सामना गरेर अगाडि बढ्न कार्यकर्तालाई आग्रह गरे ।
उनले एमालेसँग अरु दल एक्लै निर्वाचन लड्ने क्षमता नभएका कारण मोर्चाबन्दी गरेको आरोपसमेत लगाए ।
नेकपा एमालेका नेता माधवकुमार नेपालले एमाले मधेसी समुदायको शत्रु नभइ मित्र भएकाले आगामी निर्वाचन एमालेले जित्ने दाबी गरे ।
उनले पार्टीले टिकट दिएको आधिकारिक उम्मेदवारलाई निर्वाचन जिताउन सबै लाग्नुपर्ने बताए ।
पूर्वप्रधानमन्त्री नेपालले तीनै तहको निर्वाचनमा एमालेलाई जिताउनसकेमात्र मुलुक विकासको बाटोमा अगाडि बढ्नसक्ने दाबी गरे ।
महासचिव ईश्वर पोखरेलले निर्वाचनका लागि खटिने पार्टीका नेता तथा कार्यकर्ताले विस्तृत् कार्ययोजना बनाएर निर्वाचन क्षेत्रमा खटिन आग्रह गरे ।
निर्वाचनको प्रचार–प्रसारमा कति व्यक्ति जाने, कुन–कुन जिल्लामा जाने, कुन साधनमा जाने ? भन्नेबारे पार्टीलाई योजना बुझाएरमात्र जानुहोला’–महासचिव पोखरेलले भने ।
उनले विपक्षी दलले एमाले संविधान कार्यान्वयनको विरोधी भनेर लगाएको आरोपको खन्डन गर्दै जनताको आवश्यकतालाई हेरेर संविधान कार्यान्वयनमा सहयोग गर्ने बताए ।
पार्टीका स्थायी कमिटी सदस्य एवं प्रदेश नम्बर–२ का संयोजक सत्यनारायण मण्डल, स्थायी कमिटी सदस्य छविलाल विश्वकर्मालगायतले आफ्नो मतलाई सुरक्षित गर्दै अरु दलका कार्यकर्तालाई आफ्नो विचारले आकर्षण गरेर पार्टीलाई विजयी गराउन सबै नेता तथा कार्यकर्ता लाग्नुपर्ने बताए ।
एमाले काठमाडौं–प्रदेश नम्बर–२ सम्पर्क मञ्चले निर्वाचनलाई लक्षित गरी मूल्यांकन, आर्थिक, यातायात र प्रचार–प्रसार उपसमितिसमेत गठन गरेको छ । रासस





प्रतिक्रिया दिनुहोस्