Logo ७ पुस २०८२, सोमबार | Mon Dec 22 2025


बाढी प्रभावित जिल्लालाई संकटग्रस्त घोषणा गर्न माओवादी केन्द्रको माग


0
Shares

शनिबार वीरगन्जमा सम्पन्न माओवादी केन्द्रको सचिवालय बैठकले तराई–मधेसका जिल्लामा धनजनको क्षति भएको र जनजीवन कस्टकर बनेको निष्कर्ष निकाल्दै ती जिल्लालाई संकटग्रस्त घोषणा गरी राहतको विशेष प्याकेज सन्चालन गर्न माग गरेको हो ।

बैठकपछि अध्यक्ष पुष्पकमल दाहालले बाढी प्रभावित जिल्लालाई संकटग्रस्त घोषणा गरी राहत र पुनःस्थापनालाई तीव्र पार्न सरकारसँग गम्भीररुपमा कुरा राख्ने उल्लेख गरे ।

बैठकले आसन्न निर्वाचनलाई केन्द्रबिन्दुमा राखेर निर्वाचन अभियानलाई तीव्र पार्ने निर्णय पनि गरेको अध्यक्ष दाहालले जानकारी दिए ।

२ नम्बर प्रदेशमा माओवादीप्रति आकर्षण बढ्दै गएको दाबी गर्दै माओवादीले स्थानीय तह, प्रदेश र संघको निर्वाचन अभियान तीव्र पार्ने निर्णय गरेको छ ।

‘अहिले मधेसमा माओवादीको पक्षमा निकै ठूलो लहर देखिएको छ । हामी आवश्यकता र औचित्यका आधारमा संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षधरहरुसँग तालमेलको नीति लिन्छौं’–बैठकपछि दाहालले भने–‘मुख्यरुपमा मधेसकेन्द्रित दललाई प्राथमिकता दिने निर्णय गरेका छौं । मधेसमा माओवादीलाई ठूलो सफलता मिल्नेमा हामी विश्वस्त छौं ।’

संविधान संशोधन विधेयक नेकपा एमालेको चरम नश्लवादी सोच र राप्रपा विभाजनले असफल भएको भन्दै संघ र प्रदेशको निर्वाचनपछि फेरि संशोधन गर्न सकिने दाहालले बताए ।

माओवादी केन्द्रमा हालै समाहित भएका नेताहरु देवेन्द्र पौडेल, रामेश्वरराय यादव, रामचन्द्र झा र पासाङ शेर्पाले शक्तिशाली पार्टी निर्माणका लागि मुद्दा र ध्येय मिल्ने शक्तिसँग पार्टी एकता गर्नुपर्नेमा जोड दिएका थिए ।