Logo ७ पुस २०८२, सोमबार | Mon Dec 22 2025


आगामी निर्वाचनमा चितवनबाट चुनाव लड्ने दाहालको घोषणा


0
Shares

प्रेस सेन्टर चितवनले शुक्रबार गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष दाहालले गृहजिल्ला चितवनबाट चुनाव लड्ने घोषणा गरेका हुन् । ‘मैले देशभरको चुनावी अनुभव बटुलेको छु, अब आफ्नै जिल्लाबाट चुनाव लड्ने घोषणा गर्दछु,’ अध्यक्ष दाहालले भने ।

उनले चितवनको भूमिकालाई राष्ट्रिय राजनीतिको अग्रस्थानमा पु¥याउन पनि आफू चितवन आउन लागेको बताए । ‘भौगोलिक रुपमा केन्द्र बनेको चितवनलाई अब राजनीतिक भुमिकालाई अग्रस्थानमा लैजान म आउन लागेको हुँ, यसले राष्ट्रिय राजनीतिलाई नै नयाँ मोड दिन सक्छ,’ उनले भने, ‘शान्ति प्रक्रियामा आएपछि पहिले रोल्पा, काठमाडौं र मधेसबाट चुनाव लडेँ । त्यहाँका जनताले मलाई मतदान गरेर विजयी पनि गराए । उनीहरूकै मतले गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री बन्ने अवसर मिल्यो, अब देशलाई आर्थिक समृद्धितिर लैजानु छ । त्यसको नेतृत्व अब चितवनबाट हुन्छ ।’

अध्यक्ष दाहालले चितवनको जुनसुकै क्षेत्रबाट चुनाव लड्न सक्ने भन्दै यहाँका जनताले आफ्नो भुमिका र पार्टीको योगदान बुझ्नेमा विश्वास व्यक्त गरे ।

अध्यक्ष दाहालले आफूले कुन क्षेत्रबाट लड्ने भन्नेबारे नखुलाए पनि क्षेत्र नं.३ बाट लड्ने तयारी रहेको बताइएको छ ।

दाहालले अब देशमा तिव्र गतिमा आर्थिक विकास हुनु जरुरी रहेको भन्दै यसको नेतृत्व नै माओवादीले गर्ने बताए । उनले यसैका लागि आफ्नै गृहजिल्ला आएको बताए ।

दाहालले चितवन सबै हिसाबले पूर्वाधारयुक्त र संभावना भएको ठाउँ भएकोले जिल्लालाई नै महानगर बनाउनु पर्ने बताए ।

उनले प्रदेश नंं २ को स्थानीय तहको निर्वाचनमा मधेसी जनताले माओवादीलाई भोट हाल्ने दावी गरे । पछिल्लो आफ्नो दश महिने सरकारले गरेको क्रियाकलाप र क्षेत्रीय पार्टीबाट नभई राष्ट्रिय पार्टीबाट मात्रै हकअधिकार स्थापित हुने कुरा मधेसी जनताले बुझेको भन्दै माओवादीप्रति मधेसी जनता आकर्षित भएको बताए ।