सामाजिक न्याय तथा मानवअधिकार समितिको प्रतिवेदनसहितको मधेसी आयोग विधेयकमाथि छलफल गरियोस् भन्ने प्रस्ताव परित गर्नेक्रममा सांसद प्रेम सुवालले गणपूरक संख्या नपुगेको भनी नियमापत्ति जनाएपछि सभामुख ओनसरी घर्तीले तीन मिनेट घन्टी बजाएर सांसदको संख्या यकिन गर्न निर्देशन दिएकी थिइन् ।
तीन मिनेट घन्टी बजाएर गणपूरक संख्या गणना गर्दासमेत गणपूरक संख्या सम्पूर्ण संख्याको एक चौथाइ अर्थात् १४८ जना सांसद हुनुपर्नेमा संख्या १३६ मात्र भएपछि सभामुख घर्तीले १५ मिनेटका लागि बैठक स्थगित गरेकी थिइन् ।
संसदको बैठकमा कुनैपनि प्रस्ताव निर्णयार्थ पेस गर्दा एक चौथाइ सदस्य संख्या अनिवार्य उपस्थित हुनुपर्ने संवैधानिक प्रावधान छ ।
त्यसपछि बसेको दोस्रो बैठकको सुरुमै पुनः सांसद सुवालले दोस्रो गणपूरक संख्याका बारेमा यकिन गर्न माग गर्दा सो बैठकमा १५७ सांसद उपस्थित देखिएपछि बैठक सन्चालन भएको थियो ।
त्यसपछिको सन्चालन बैठकमा सामाजिक न्याय तथा मानवअधिकार समितिको प्रतिवेदनसहितको थारु आयोग विधेयकमाथि छलफल गरियोस् भन्ने प्रस्ताव पारित गर्नेक्रममा सांसद प्रेम सुवालले पुनः तेस्रोपटक गणपूरक संख्या यकिन गर्न नियमापत्ति जनाएका थिए ।
त्यसपछि सभामुख ओनसरी घर्तीले तीन मिनेट घन्टी बजाएर गणपूरक संख्या गणना गर्न निर्देशन दिएकी थिइन् ।
संख्या गणना गर्दा १२७ मात्र सांसद संख्या यकिन भएपछि सभामुख घर्तीले पुनः दोस्रोपटक १५ मिनेटका लागि बैठक स्थगित गरेक थिइन् ।
दोस्रोपटक १५ मिनेटका लागि स्थगित बैठक बस्दै नबसी सूचना टाँस गरेर विशेष कारणबस भन्दै आगामी असोज ३ गते दिउँसो ३ः०० बजेसम्मका लागि स्थगित गरिएको छ । रासस





प्रतिक्रिया दिनुहोस्