
कलैया उपमहानगरपालिकाको मतगणना बुधबार बिहान सकिएसँगै बाराका सबै तहको मतपरिणाम सार्वजनिक भएको हो ।
समग्रमा बाराका १६ ओटै स्थानीय तहको निर्वाचन शान्तिपूर्ण सम्पन्न भएको र मतगणनाको कामसमेत सकिएको प्रमुख निर्वाचन अधिकृत रितेन्द्र थापाले बताए ।
१६ स्थानीय तहमध्ये कलैया उपमहानगरपालिकासहित नेपाली कांग्रेसले ६, जितपुर–सिमरा उपमहानगरसहित नेकपा एमालेले २, संघीय समाजवादी फोरम नेपालले ४, राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले ३ र एक तहमा नेपाल लोकतान्त्रिक फोरमले जित हासिल गरेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
कांग्रेस कलैया उपमहानगरसहित निजगढ, सिम्रौनगढ र महागढीमाई नगरपालिका तथा बारागढी र करैयामाई गाउँपालिकामा विजयी भएको छ ।
कांग्रेसले निजगढ र सिम्रौनगढ नगरपालिका तथा बारागढी गाउँपालिकामा मेयरमात्र जितेको छ भने अरुमा मेयर र उपमेयर दुबैमा पदमा जितेको छ ।
एमालेले जितपुर–सिमरा उपमहानगर र कोहल्बी नगरपालिकामा मेयर र उपमेयर दुवै पद जितेको छ भने निजगढमा उपमेयरमात्रै जितेको छ ।
यस्तै, फेटा, आदर्श कोतवाल र सुवर्ण गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष दुवै पद जित्न सफल फोरम नेपालले पचरौता नगरपालिकामा मेयरमात्र जितेको छ ।
राजपाले प्रसौनी, परवानीपुर र देवताल गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष दुवैमा जित हासिल गरेको छ ।
यस्तै, नेपाल लोकतान्त्रिक फोरमले भने विश्रामपुर गाउँपालिकामामात्र अध्यक्ष र उपाध्यक्ष दुवै पदमा जित हासिल गरेको छ ।
प्रतिक्रिया दिनुहोस्