नेपालको राजनीतिका ‘महानायक’ गिरिजाबाबु - Image Khabar
Everest Bank

नेपालको राजनीतिका ‘महानायक’ गिरिजाबाबु

तत्कालिन राणा प्रधानमन्त्री चन्द्र शमशेरले पिता कृष्णप्रसाद कोइरालालाई राजद्रोहको मुद्दा लगाई सर्वश्वहरण सहित देशनिकाला गर्ने पत्राचार गरेपछि भारतको बनारस निर्वासनमा पुगेको कोइराला परिवार वि.सं. १९७५ मा विहार राज्यको सहर्षा जिल्लाको टेडी गाउँमा बसोबास गर्दथ्यो । यसैक्रममा वि.सं. १९८१ असार १८ गते गिरिजाप्रसाद कोइरालाको जन्म भएको थियो ।

उनी गर्भमा रहेका बेला उनका माता पिता गिरिजादेवीको मन्दिर जाने गर्दथे र सन्तान छोरा या छोरी जे जन्मिएपनि गिरिजाप्रसाद वा गिरिजादेवी राख्ने सल्लाह अनुसार उनको नाम गिरिजाप्रसाद राखिएको थियो । भारतमा नै जन्मिएका कारण उनले बाल्यकालमै भारतमा अंग्रेज विरोधी आन्दोलनलाई नजिकबाट हेर्ने अवसर पाएका थिए । 

कोइरालाले नेपालको प्रजातान्त्रिक आन्दोलनमा करिब ७० बर्ष निरन्तर संघर्ष गरेका थिए भने उनको राजनैतिक जीवनको प्रारम्भ २३ बर्षको कलिलो उमेरमा आफ्नो गृहनगर विराटनगर जुट मिलका श्रमिक नेताको रुपबाट भएको थियो । जुन आन्दोलनको नेतृत्व उनैले गरेका थिए र २००७ सालमा नेपालमा पहिलोपटक प्रजातन्त्रको उदय गराउने आधारस्तम्भका रुपमा विराटनगर जुटमिल आन्दोलनलाई लिने गरिन्छ ।

त्यस्तै वि.सं. २००४ सालमा कोइरालाले नेपाल मजदुर काँग्रेसको स्थापना गरे, जुन अहिले नेपाल ट्रेड युनियन काँग्रेसको नामले चिनिन्छ भने २००८ सालमा गिरिजाप्रसाद कोइराला नेपाली काँग्रेस मोरङ जिल्लाको सभापति बने र २०१७ सालमा राजा महेन्द्रले सत्ताकब्जा गर्ने उद्देश्यका साथ दलीय प्रतिबन्ध लगाउने घोषणा सहित उनी लगायत अन्य नेताहरुलाई गिरफ्तारी गरी कैद नगरुञ्जेल सो कार्यभार कोइरालाले नै सम्हालेका थिए । 

वि.सं. २०२५ सालमा बीपी र गणेशमान सिंह नेपालबाट जेलमुक्त भई भारतमा निर्वासनमा हुंँदा उनी पनि सँगै थिए । आन्दोलनकै क्रममा  वि.सं. २०३० सालको विमान अपहरण काण्डको नेतृत्व गरेका कोइराला वि.सं. २०३१ सालदेखि २०४७ सालसम्म नेपाली काँग्रेसको महामन्त्री थिए ।

कोइराला २०४६ सालको परिवर्तनपछि २०४८ सालमा सम्पन्न भएको आम निर्वाचनमा मोरङ क्षेत्र नं. १ र सुनसरी क्षेत्र नं. ३ गरी दुई निर्वाचन क्षेत्रबाट विजयी भएका थिए भने उक्त निर्वाचनमा नेपाली काँग्रेसले प्रतिनिधि सभामा २०५ सिट मध्ये ११० सिटमा विजयी प्राप्त गरी स्पष्ट बहुमत ल्याएपछि गिरिजाप्रसाद कोइराला पहिलोपटक प्रधानमन्त्री बने ।

वि.सं. २०५० सालमा काँग्रेसका ३६ जना संसदले कोइराला नेतृत्व सरकारको प्रस्तावित कार्यक्रम विरुद्ध मतदान गरेपछि कोइरालालाई विश्वासको मत लिन कठिनाई भएपछि उनले तत्कालिन व्यवस्थापिका संसद भंग गरी मध्यावधी निर्वाचन गराउने घोषणा गरे ।

तर मध्यावधी निर्वाचन २०५१ को परिणामले एमालेलाई अल्पमतको सरकार गठन गर्ने जनादेश दियो र मनमोहन अधिकारीको नेतृत्वमा पहिलो जननिर्वाचित कम्युनिष्ट सरकार गठन भयो । त्यसपछि वि.सं. २०५३ साल वैशाखमा काठमाडौमा भएको काँग्रेसको महाधिवेशनबाट पार्टी सभापति भएका कोइरालाले एमालेको ९ महिने सरकार विघटन भएपछि दोस्रोपटक सरकार प्रमुखको रुपमा २०५४ साल चैत ३० गते प्रधानमन्त्री बन्ने अवसर प्राप्त गरेका थिए । 

वि.सं. २०५६ सालमा भएको आमनिर्वाचनमा पुनः नेपाली काँग्रेसले बहुमत प्राप्त गरेपछि काँग्रेस सन्तनेता कृष्णप्रसाद भट्टराईको नेतृत्वमा सरकार गठन भयो । तर आफ्नै पार्टीका असन्तुष्ट पक्षको अविश्वास प्रस्तावका कारण प्रधानमन्त्री भट्टराईले राजिनामा दिएपछि कोइराला वि.सं. २०५६ साल चैत ७ गते तेस्रोपटक प्रधानमन्त्री पदमा नियुक्त भए ।

तर मुलुकमा उत्पन्न विषम परिस्थितीका कारण कोइरालाले २०५८ साल साउन ४ गते पदबाट राजीनामा दिए । जुन समयमा नेकपा माओवादी राज्यशक्ति विरुद्ध सशस्त्र युद्ध गरिरहेको थियो भने २०५८ साल जेठ १९ गते तत्कालिन राजा वीरेन्द्रको वंशनाश नै हुने गरी नारायणहिटी दरबार हत्याकाण्ड भएको थियो ।

तत्कालिन राजा ज्ञानेन्द्रले २०५९ असोज १८ गतेका दिन नेपाल अधिराज्यको संविधान २०४७ को धारा १२७ को व्यवस्था भन्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई बर्खास्त गरी २०१७ पौष १ गतेकै घटना दोहो¥याउने गरी सक्रिय राजतन्त्रात्मक शासन व्यवस्थाको शुरुवात गरे ।

यसैक्रममा तत्कालिन काँग्रेस सभापति गिरिजाप्रसाद कोइराला र शेरबहादुर देउवावीच भएको टकरावले तत्कालिन प्रतिनिधिसभाको बैठक हुने अघिल्लो दिन प्रधानमन्त्री शेरबहादुर देउवाद्वारा प्रतिनिधि सभा विघटन गरिएपछि नेपाली काँग्रेस विभाजित भयो । फलस्वरुप राजाको प्रतिगमन विरोधी आन्दोलनको नेतृत्व गर्दै सात पार्टीको सर्वमान्य नेताका रुपमा कोइरालाले वि.सं. २०६० साल कात्तिक २६ गते जनकपुरधामको तिरहुतिया गाछी मैदानमा आयोजना गरिएको आमसभामा अबको संघर्ष तानाशाह राजा र लोकतन्त्रको बीचमा रहेको उद्घोष गर्दै आन्दोलनको विगुल फुके ।  

वि.सं. २०४६ सालको जनआन्दोलनपछिको दशकमा कोइरालाको नाम कम्युनिष्ट विरोधी नेताको रुपमा आउँथ्यो । किनकी प्रारम्भमा माओवादीलाई निस्तेज पार्न चालेको कदमका कारण उनी त्यतिबेला कम्युनिष्टका लागि अनुदार व्यक्तिका रुपमा चित्रित भएका थिए भने माले, मसाले र मण्डले एकै हुन् भनी गिरिजाप्रसाद कोइरालाले दिएको अभिव्यक्तिका कारण पनि उनलाई कम्युनिष्टहरुले मन पराएका थिएनन् ।

तर राजा ज्ञानेन्द्रले संकटकाल लगाई उनी लगायत अन्य संसदवादी दलका नेताहरुलाई गिरफ्तार गरी नजरबन्दमा राखेपछि कोइरालाले २०६२ सालमा सशस्त्र युद्ध गरिरहेको नेकपा माओवादी सँग समेत हातेमालो गर्ने निर्णय गरेका थिए । जुन कुरा उनकै पार्टीका केही शीर्ष नेताहरुलाई मन परेको थिएन र युद्धकालमा माओवादीसँग राजतन्त्रविरुद्ध सहमति गरेपछि काँग्रेसभित्रै कोइरालाको कडा आलोचना भयो । तर उनको व्यक्तित्वका अगाडि उनलाई गरिएको आलोचना गौण बन्न गयो र मुलुकमा संसद पुर्नस्थापना तथा लोकतन्त्र बहालीको आवाज बुलन्द भयो । 

फलस्वरुप ऐतिहासिक जनआन्दोलन–२ को सफलता लगत्तै २०६३ वैशाख १५ गते प्रतिनिधिसभाको पहिलो पुर्नस्थापित बैठकले कोइरालालाई सर्वमान्य नेताको रुपमा चयन गर्दै प्रधानमन्त्री बनायो । त्यस्तै वि.सं. २०६३ जेठ ४ गते प्रतिनिधीसभाले तत्कालिन राजालाई निलम्वन गरेपछि कोइराला नेपालको पहिलो कार्यवाहक राष्ट्रप्रमुख समेत बने ।

त्यस्तै २०६३ मंसीर ५ गते तत्कालिन सरकार र विद्रोही नेकपा माओवादीवीच विद्रोहको बाटो परित्याग गरी शान्तिपूर्ण मूलधारको राजनीतिमा आई संविधानसभा निर्वाचन मार्फत नयाँ संविधान निर्माण गर्ने मुख्य बुँदा सहित ‘बृहत् शान्ति सम्झौता’ भएपछि नेपालको अन्तरीम संविधान, २०६३ जारी गरियो र संविधान अनुसार नै वि.सं. २०६४ चैत्र २८ गते नेपालमा पहिलो संविधानसभा निर्वाचन सम्पन्न भयो । फलस्वरुप वि.सं. २०६५ साल जेठ १५ गते बसेको संविधानसभाको पहिलो बैठकले गणतन्त्र सम्बन्धी प्रस्ताव पारित गरेपछि नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुकमा परिणत भयो, जुन स्वर्गिय गिरिजाप्रसाद कोइरालाको देन थियो । त्यसपछि उनले आफ्नो प्रधानमन्त्री पदबाट राजीनामा दिए । 

तत्कालिन भारतीय प्रधानमन्त्री मनमोहन सिंहबाट एसियाकै महान् नेताको सम्मान पाएका कोइराला १० बर्ष लामो सशस्त्र युद्ध गरेको नेकपा माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन निर्णायक भूमिका खेल्ने नेता थिए । साथै उनकै जोडबलले नेपालमा गणतन्त्र, धर्मनिरपेक्षता, समावेशिता जस्ता लोकतन्त्रका मेरुदण्ड मानिने बिषयहरुले संविधानमा नै प्राथमिकता पाए ।

अर्कोतर्फ संसारमै साम्यवादी आन्दोलन संकटमा परिरहेको समयमा कोइरालाले सशस्त्र युद्धमा रहेको पार्टीलाई शान्ति प्रक्रियामा ल्याउन सफल भएकाले पनि उनको नाम विश्व राजनीतिमा सदैव चर्चित रहनेछ । नेपालको लोकतान्त्रिक आन्दोलनका शिखर पुरुष गिरिजाप्रसाद कोइरालाको भौतिक शरीर आज हामीवीच नरहेपनि उनले लोकतन्त्रका लागि गरेको योगदान नेपाली इतिहासमा सदा अविष्मरणीय रहने छ । 

आफ्नो राजनीतिक जीवनभर लोकतन्त्रको आधारभूत सिद्धान्त, मान्यता र प्रक्रियामा उनी कसैसँग सम्झौता गर्न तयार भएनन् । एकातर्फ लोकतन्त्रमा राजतन्त्र आफैं असान्दर्भिक हुँदै गएको र अर्कातर्फ जनमत गणतन्त्रतर्फ तीव्ररुपमा अगाडि बढिरहेको सन्दर्भलाई बुझेका कोइरालाले विविध राजनीतिक घटना, परिस्थिति र आफ्ना भोगाइले सिकाएको पाठबाट उचित निर्णय गरी उनलै मुख फोरेपछि मात्रै नेपालमा राजतन्त्रको विधिवत् अन्त्य भई गणतन्त्र स्थापना भएको हो ।

त्यसमाथि कोइराला आफूले राखेको अडानबाट कहिल्यैपनि विचलित नहुने नेता भएकै कारण २०५९ जेठमा विघटित प्रतिनिधिसभा पुर्नस्थापनाको एकसूत्रीय एजेन्डा बोकेर प्रारम्भमा राजधानी काठमाडौको केन्द्र रत्नपार्क वरिपरि आन्दोलन गरिरहँदा आफ्ना केही कार्यकर्ताहरु बाहेक सर्वसाधारण जनताको सहभागिता खासै नहुँदा केहीसमय चिन्तित भएपनि राजा ज्ञानेन्द्रलाई जनताको तागत देखाउनुपर्ने चुनौती भएकाले उनी आफ्नो सपना जसरी पनि पुरा गरेरै छाड्ने अभियानमा लागेकै कारण मुलुकमा परिवर्तन भएको हो । 

हुनत वर्तमानमा वयलगाडा चढेर अमेरिका पुगिँदैन भन्नेहरु, माओवादी जनयुद्धकै कारण मुलुकमा गणतन्त्र आएको भनेर कुर्लनेहरु, मधेश आन्दोलनकै कारण संघीयता आएको भनी दावी गर्नेहरु र जनजाति आन्दोलनकै कारण समावेशिता आएको भन्नेहरुले जसरी अपव्याख्या गरेपनि गिरिजाबाबुको अभिभावकत्व र निर्णयका कारणले नै मुलुकमा सबै परिवर्तन भएको हो भन्नुमा विमति हुन सक्दैन । त्यसमाथि आजको संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको बाटो तय गर्ने मात्र होईन, त्यसको मार्गचित्र कोर्ने मुख्य व्यक्ति पनि गिरिजाप्रसाद कोइराला नै हुन् ।

समकालीन विश्व राजनीतिज्ञभन्दा पृथक राजनीतिक दर्शन तथा आदर्शले कोइराला मुलुकको राजनीतिक मियोका रुपमा सदा स्थापित भएका व्यक्ति मात्र नभई उनी आफूलाई समयानुकूल परिवर्तन गर्ने स्वभावले शक्तिशाली राजनीतिज्ञ बन्न सफल भएका अग्रणी नेता हुन् । जसले नेपालको राजनीतिमा सहमति, सहकार्य र एकताको सिद्धान्तलाई स्थापित गरी निडरता, निर्भिकता र आत्मविश्वासलाई समेत नेपाली राजनीतिमा प्रयोग गराए । यस्ता महान् नेताको भौतिक शरीर अहिले हामीसामु नभएपनि उनले आफ्नो जीवनकालमा लोकतन्त्र प्राप्तिका लागि गरेका संघर्षबाट पाठ सिक्दै देशलाई लोकतन्त्रका मूलभूत आधारस्तम्भ अनुसार सञ्चालन गर्न सक्ने हो भने मात्र उनी प्रति सच्चा सम्मान र श्रद्धाञ्जली हुनेछ । (लेखक अधिवक्ता हुन्)

 

 

प्रतिक्रिया दिनुहोस्