सुकुम्बासीका व्यथा : न समस्या टर्‍यो, न त्रास हट्यो « Image Khabar


सुकुम्बासीका व्यथा : न समस्या टर्‍यो, न त्रास हट्यो


Border circle
Imagekhabar

खिलनाथ ताजपुरिया
काठमाडौं । जब झमझम पानी पर्छ, थापाथलीको सुकुम्बासी बस्तीमा बसोबास गर्नेहरूको मटुमा ढ्याङ्ग्रो ठोक्न थाल्छ ।

पानी नथामिएसम्म उनीहरू जाग्राम बस्छन् । आफू कसरी बच्ने मात्र हैन, लालाबाला कसरी जोगाउने दवाव अभिभावकहरूमा पर्छ । बागमती नदीको पानी घट्दा प्रदूषण त, बढ्दा बाढीको त्रासले उनीहरूको भोक निद्रा छिन्ने गरेको छ ।

यो नियति उनीहरूले वर्षेनी झेल्दै आएका छन् । दुई वर्षअघि आएको बाढी बस्तीमा पसेपछि भागाभाग भएको थियो । २०६३ सालदेखि थापाथलीको बागमती किनारलाई आफ्नो मुन्टो लुकाउने ठाउँ बनाउँदै आएका सुकुम्बासी बस्तीका सदस्यका पीडा पोखिसाध्य छैन ।

आकाश धुम्म भएपछि र मेघ गर्जेपछि त्रास हुने गरेको सुकुम्बासी हरिमाया जिम्बा बताउनुहुन्छ । ‘धुम्म भएपछि त त्रास भइहाल्छ नि,’ उहाँ भन्नुहुन्छ, ‘दिनभरी वा रातभरी पानी आयो भने उठेर खोला हेर्ने गरेका छौँ ।’ प्रहरीले पनि आफूहरूलाई सहयोग गर्ने गरेको उहाँको भनाइ छ ।

यस ठाउँबाट सुरक्षित स्थानमा सारिदिन बारम्बार अनुरोध गर्दा पनि सुनुवाइ नभएकोमा उनीहरूको गुनासो छ । बरु बस्तीमै डोजर कुदाएर अमानवीय व्यवहार गरिएको भन्दै चित्त दुखाउँछन् । बस्तीका पदाधिकारीहरू भन्छन्– ‘न बस्तीको समस्या टर्‍यो, न त्रास हट्यो ।’

आफूहरूले बागमती सफाइ अभियानलाई पनि थापाथली क्षेत्र डुबानमा पर्ने भएकाले सफा गरिदिन आग्रह गरे पनि सुनुवाइ नभएको उत्पीडित सुकुम्बासी समितिका अध्यक्ष चन्द्रबहादुर लामा बताउनुहुन्छ । २०६९ सालमा आफूहरूलाई रातभरी प्रहरीले घेरा हालेर बिहानीपख बस्ती पूरै भत्काइएको उपाध्यक्ष झवरलाल उराव(सुमन)को दुःखेसो छ

झरी पर्न थालेपछि यहाँ नजिकै रहेको वडा प्रहरी कार्यालयले सचेतना अपनाउन भन्दै माइकिङ गर्ने बाहेक सरकारबाट उनीहरूले कुनै सहयोग पाएका छैनन् ।

सुकुम्बासीका समस्या आफ्ना ठाउँमा होलान् । जनताको अभिभावक सरकार हो । उसका लागि जनताको ज्यान जोगाउनु पहिलो कर्तव्य हो । पटक–पटक बनेका सरकारले जनताको सुरक्षामा आफ्नो स्वामित्व लिइरहेका बेला नदी किनारमा जोखिम जीवन बाँचिरहेका यिनीहरूलाई सुरक्षाको प्रत्याभूति दिलाउनु पहिलो कर्तव्य हो ।

प्रतिक्रिया दिनुहोस्