चैतसम्म ३ करोड २३ लाख खोप ल्याउने मन्त्रालयको दावी « Image Khabar


चैतसम्म ३ करोड २३ लाख खोप ल्याउने मन्त्रालयको दावी


Border circle
Imagekhabar

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले असोज मसान्तसम्म १ करोड ५ लाख ४८ हजार डोज खोप प्राप्त गर्ने आधार तय भएको भन्दै चैतसम्ममा ३ करोड २३ लाख डोज खोप प्राप्त हुने दावी गरेको छ ।

संसद्को शिक्षा तथा स्वास्थ्य समितिमा भएको छलफलका क्रममा मन्त्रालयका अधिकारीहरूले कोभ्याक्स कार्यक्रमबाट १ करोड १३ लाख डोज, कोभ्याक्स अन्तर्गत लागत सहभागितामा कोभिसिल्ड, मोडर्ना, फाइजर, जानसेन र सिनोभ्याकको १ करोड ५० लाख डोज तथा बालबालिकाका लागि फाइजरको ६० लाख डोज खोप आउने बताएका हुन ।

छलफलमा नवनियुक्त स्वास्थ्य राज्य मन्त्री उमेश श्रेष्ठले अनुदान वा खरिद गरेर खोपको व्यवस्था गर्ने बताउनुभयो । राज्यमन्त्री श्रेष्ठले तेस्रो लहरको संक्रमणमा निःशुल्क उपचार गर्ने गरी आफूले सेवामूलक अस्पताल खोल्ने दाबी पनि गर्नुभयो ।

छलफलमा एमाले सांसद योगेश भट्राईले चीनको भेरोसेल खोपलाई धेरै मुलुकले मान्यता नदिएकाले विद्यार्थी र श्रमरोजगारीमा जानेहरूलाई समस्या भएको भन्दै धेरैभन्दा धेरै देशले मान्यता दिने खोप खरिदमा कुटनीतिक पहल गर्न सुझाव दिनुभयो ।

समितिका सदस्यहरूले नेपालमै कोरोना भाइरस विरुद्धको खोप बनाउन पहल गर्नुपर्ने, संक्रमितको उपचार समान रूपमा हुनुपर्ने, उपचार र संक्रमण नियन्त्रण गर्न खर्च भएको रकमको विवरण सार्वजनिक गर्नुपर्ने लगायतका सुझाव दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्