ठेकेदारको लापरवाही : कैलाली र कञ्चनपुर जोड्ने मोहना नदीमा निर्माणाधिन पुल अलपत्र • Image Khabar Image Khabar


ठेकेदारको लापरवाही : कैलाली र कञ्चनपुर जोड्ने मोहना नदीमा निर्माणाधिन पुल अलपत्र


Border circle
Imagekhabar

ठेकेदारको लापरवाही : कैलाली र कञ्चनपुर जोड्ने मोहना नदीमा निर्माणाधिन पुल अलपत्र

बिराज रोस्यारा

कैलाली । मोहना नदीको पुल निर्माण भइरहेको दुवै तिर तटबन्द निर्माण नगरे गाउँ नै जोखिममा पर्ने भन्दै स्थानीय त्रसित भएका छन् । ७ वर्षअघि निर्माण थालिएको पुल सम्पन्न नहुँदै काम नलाग्ने अवस्थामा पुगेको हो । लगातारको वर्षा र बाढीका कारण कृष्णपुर राजघाटतर्फको जमिन कटान गरेको छ । नदीले कटान गरेको क्षेत्रमा तत्काल तटबन्ध नगरे नदी एकातिर र पुल अर्कोतिर हुने सम्भावना रहेको स्थानीयले बताएका छन् ।

धनगढी उप–महानगरपालिका ३ र कञ्चनपुरको कृष्णपुर नगरपालिकाका–९ राजघाट जोड्ने पक्की पुलको निर्माण कार्य सुरु भएको ७ वर्ष पूरा भएको छ । सडक डिभिजन कार्यालय महेन्द्रनगरले मोहना नदीमा पर्ने उक्त पुल निर्माणका लागि २०७१ असार ३१ गते एलाइड एडभेञ्चरसँग ठेक्का सम्झौता गरेको थियो । निर्माण कम्पनीको चरम लापरवाहीका कारण पुल निर्माणको काम ७ वर्षदेखि अलपत्र भएको स्थानीयको आरोप छ ।

धनगढीको चटरपुरदेखि राजघाट जोड्ने पुलको लम्बाई १ सय २० मिटर रहेको छ । निर्माण सम्झौताको ७ वर्षपछि पुलको काम अन्तिम चरणमा पुगेको सडक डिभिजन कार्यालय महेन्द्रनगरले जनाएको छ । ग्रावेल र रेलिङको काम मात्रै बाँकी रहेको र नदी कटान रोक्नका लागि केही समयमै काम सुरु गर्ने योजना रहेको कार्यालयले जनाएको छ । नदी कटान रोक्नका लागि स्थानीय तहले तटबन्दको व्यवस्था गर्नुपर्ने र ठेकेदार कम्पनीले पनि पुल निर्माणको काम चाँडै सम्पन्न गर्नुपर्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्