बाजे सुन, बुवा चाँदी र नाति ढलौटको काम गर्दै « Image Khabar


बाजे सुन, बुवा चाँदी र नाति ढलौटको काम गर्दै


Border circle
Imagekhabar

नरेन्द्र मानन्धर
काठमाडौं, साउन १० । रोजगारीको खोजीमा बर्षेनी लाखौं नेपाली विदेशीन्छन् । सुखको खोजीमा निस्किएका हजारौं व्यक्ति कफिनमा ढाकिएर फर्किएका छन् । तर नेपालमै केही गर्छु भन्ने मेहनती हातहरुको पनि कमी छैन् यहाँ । कमाइ धेरै त नहोला तर उनीहरु सन्तुष्ट भने छन् ।

हरेक दिन रामसुन्दर बज्राचार्य यसरी नै मेहनतका साथ पसिना बगाइ रहेका हुन्छन् । कर्मठ ‘थकमी’ कालीगढ पेशाबाट उनले कयौं ढलौटका कलात्मक सामाग्री मर्मत गरिसकेका छन् ।
हामी जाँदा ग्राहकले दिएको करिब १ सय ७३ वर्ष पुरानो पूजा घण्टीको मर्मत भर्खरै सकाएका थिए । घण्टी राम्रै बच्यो । दंग परे बज्राचार्य । राम्रो नबजे पैसा नलिने बताएका थिए उनले ।
सुनको काम गर्ने बाजे, बुवाले गरे चाँदीको काम । तर बुबाको मृत्युपछि काभ्रे नमोबुद्ध दाप्चाका रामसुन्दरले ढलौटको कालीगढ पेशा रोजे र कर्मथलो बनाए काठमाडौंलाइ । यट्खामा रहेको पसलमा भ्याइनभ्याइ थियो उनलाई तर अहिले कोरोना महामारीका कारण खासै काम पनि छैन् ।

तर पनि ऐतिहासिक महत्वका विग्रेका सामाग्रीहरु बनाउँछन उनी । ग्राहकको मन जित्न सकेकोमा खुसी बज्राचार्य राम्रा जनशक्ति विदेश पलायन हँुदा भने दुःखी छन् ।

झण्डै तीन दशक अघि नै उनले नेपाली कालिगढहरुलाई पलायन हुनबाट रोक्न सरकारलाई लिखित सुझाब नै दिएका थिए । स्वदेशी नहुँदा अहिले छिमेकी मुलुकबाट कामदार ओइरिएको बज्राचार्यको अनुभव छ । आफ्नो छोरालाई पनि सिप बाँडेका छन् । छोराले विरासत धान्ला नधान्ला यसै भन्न सक्दैनन उनी तर सरकारले यसमा गम्भीर भएर सोचिदिए हुन्थ्यो भन्ने चाहना छ ।

अहिलेको आवश्यकता हो दक्ष श्रम शक्तिलाई विदेश पलायन हुनबाट रोक्नु । ४०/५० डिग्रीको तापक्रममा कसको पो चाहना हुन्छ र विदेशमा पसिना चुहाउन । कफिनमा ढाकिएर आउने तन्नेरीहरुको शव र उनीहरुको परिवारको आँशुलाई रोक्ने नै हो भने स्वदेशमा रोजगारी सिर्जना अनि श्रमशक्तिको व्यवस्थापनमा सरकारले ध्यान दिनु पर्छ ।

प्रतिक्रिया दिनुहोस्