सत्ताबाट बाहिरिएसँगै एमाले पार्टी कार्यालय सुनसान « Image Khabar


सत्ताबाट बाहिरिएसँगै एमाले पार्टी कार्यालय सुनसान


Border circle
Imagekhabar

अक्कल कुँवर
काठमाडौं, साउन १० । २०७४ सालको निर्वाचनपछि ४० महिना सत्ताको नेतृत्व गरेको नेकपा एमाले अहिले प्रतिपक्षमा पुगेको छ । सत्तामा रहँदा पार्टी कार्यालय सँगसँगै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कार्यकर्ताको चहलपहल हुने गरेपनि सत्ताबाट बाहिरिएसँगै पार्टी कार्यालयमा समेत शून्य प्रायः देखिएको छ ।

प्रधानमन्त्रीबाट हटेपछि प्रमुख प्रतिपक्ष दलका नेता बनेका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली आइतबारसम्म एक पटक पनि पार्टी कार्यालय जानुभएको छैन् । हुन त प्रधानमन्त्री हुनभन्दा पहिले पनि अध्यक्ष ओली कार्यालयमा राखेका पार्टीका बैठक बाहेक अरु बेला पनि पार्टी कार्यालय बिरलै जानुहुन्थ्यो । प्रधानमन्त्री हुँदा पनि प्रधानमन्त्री कार्यालय नगई सरकारी निवासबाटै सत्ता र पार्टी सञ्चालन गरेपछि ओलीको तीब्र आलोचना भएको थियो ।

अध्यक्ष ओली बाहेक अन्य नेताहरु भने प्रायः कार्यालय पुगिरहेका हुन्छन् । सत्तामा रहँदा सरुवा, बढुवा लगायतका काममा प्रधानमन्त्री र मन्त्रीका सरकारी निवास धाउने कार्यकर्ताहरु अहिले पार्टीका कामले मात्र पार्टी कार्यालय पुग्ने र पार्टीका नेताहरुसँग भेटघाट गर्ने गरेका छन् । नेकपा एमाले पार्टी कार्यालयका सम्पर्क व्यक्त चन्द्रदेव पासवान संगठनलगायत पार्टीका अन्य कामको लागि कार्यकर्ता पार्टी कार्यालय आउनेक्रममा कमि नआएको जिकिर गर्नुहुन्छ ।

सत्ता बर्हिगमनपछि एमालेले सडक र सदनबाट सरकारबिरुद्ध जाने रणनीति बनाएको छ । पार्टीका नेताहरु सरकारविरुद्ध कडा रुपमा प्रस्तुत गर्न कार्यकर्तालाई रिझाउन विभिन्न उपाय अपनाइरहेका छन् । एमाले सम्वद्ध युवाहरुको शक्ति प्रदर्शन पनि त्यसैको एउटा कडी हो ।

संसदमा ठूलो पार्टी भएपछि प्रतिपक्षमा बस्नुपर्दाको पीडा पोख्ने थलो सडक बनाउन खोजेपनि पार्टीभित्रको आन्तरिक कलहले एमाले कार्यकर्ताहरु भने अलमलमा छन् । कार्यकर्तामा रहेको अलमलकै कारण पार्टी कार्यालयमा कार्यकर्ताको चहलपहल बढ्न नसकेको हो ।

हुन त नेकपा एमालेले आगामी निर्वाचनलाई लक्षित गरेर पार्टीको सांगठनिक काम र गतिविधिलाई प्रभावकारी रुपले लैजाने योजना बनाएको दावी गरेको छ । तर, पार्टीभित्र चुलिएको आन्तरिक कलह र पार्टीको रणनीति प्रष्ट नहुँदा कार्यकर्ताहरु अल्मलिएका छन् ।

प्रतिक्रिया दिनुहोस्