नेम्वाङलाई दोष देखाउँदै फुटबल प्रशिक्षक अलमुताइरीको राजीनामा « Image Khabar


नेम्वाङलाई दोष देखाउँदै फुटबल प्रशिक्षक अलमुताइरीको राजीनामा


Border circle
Imagekhabar

काठमाडौं, साउन १० । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले राजीनामा दिने घोषणा गरेका छन् ।

प्रशिक्षक अलमुताइरीले सामाजिक सञ्जालमार्फत आफूले राजीनामा दिन लागेको बताएका हुन् । अखिल नेपाल फुटबल संघ (एन्फा) का वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्वाङले आफूलाई दुःख दिएको भन्दै उनले राजीनामाको घोषणा गरेको बताएका छन् । उनले नेम्बाङले पछिल्लो तीन सातादेखि असहयोग गरिरहेको र त्यसका कारण आफुले फुटबल टिम छोड्ने निर्णय गरेको भन्दै फुटबल समर्थकलाई जानकारी दिएका छन् ।

यसैबीच एन्फा वरिष्ठ उपाध्यक्ष नेम्वाङले भने आफ्नो र अलमुताइरीको प्रत्यक्ष भेटसमेत नभएको भन्दै आफूलाई लगाइएको आरोप झुठो भएको बताउनु भएको छ । उहाँले आफ्नो कुनै गल्ती भएको भए आफू एक मिनेट पनि एन्फामा नबस्ने बताउनु भएको छ । उहाँले निष्पक्ष छानबिन गर्न एन्फा अध्यक्ष कर्माछिरिङ्ग शेर्पासमक्ष मागसमेत गर्नुभएको छ ।

नेम्वाङले भन्नुभयो, ‘अलमुताइरीले नेपाली फुटबलमा राम्रो काम गर्न खोजिरहेकाले कोशेढुङ्गा बन्न सक्नुहुन्थ्यो । तर मेरो अढाई दशकको फुटबल करियरमा धक्का दिने गरी लेख्नुभएको छ यो गलत हो । यो ममाथि षड्यन्त्र गरिएको हो । समग्र फुटबलप्रेमीहरुलाई सत्यतथ्य बुझिदिनसमेत आग्रह छ ।’

प्रतिक्रिया दिनुहोस्