नयाँ सरकारले न्याय देला भन्ने आशमा निर्मलाका परिवार « Image Khabar


नयाँ सरकारले न्याय देला भन्ने आशमा निर्मलाका परिवार


Border circle
Imagekhabar

दुर्गा उपाध्याय
कञ्चनपुर, साउन १० । निर्मला पन्तको बलात्कारपछि हत्या भएको तीन वर्ष पुरा भएको छ । तर अहिलेसम्म घटनामा संलग्न व्यक्तिको पहिचान हुन सकेको छैन् । नयाँ सरकार परिवर्तन भएसँगै निर्मलाको परिवार र आम नागरिकमा समेत निर्मलाले न्याय पाउनेमा आशा पलाएको छ ।

वि.स. २०७५ साउन १० गते साथीको घर जान भनी आफ्नो घरबाट निस्किएकी निर्मला पन्तको ११ साउनमा उखुबारीमा शव फेला परेको थियो । तर घटनास्थलको सुरक्षा, प्रमाण संकलनलगायतका कुरामा भने प्रहरीको निकै ठूलो कमजोरी देखियो । जसले गर्दा तत्कालीन प्रहरी प्रमुखसहित आठ जना प्रहरीमाथि कारवाही गरियो ।

त्यतिमात्रै होइन, गलत रिर्पोटिङ्गका कारण गृहमन्त्री र प्रधानमन्त्रीले दिएका अभिव्यक्तिले धेरैलाई यसमा सरकारकै मिलिमतो रहेको आशंका भयो । जसले गर्दा परिवार र आम नागरिकमा निर्मलाले न्याय पाउनेमा शंका उब्जियो । कतिले त सरकारले नै अपराधीलाई संरक्षण दिएको आरोप लगाए । तर, अहिले सरकार परिर्वतन भएसँगै परिवारले न्यायको अपेक्षा राखेको छ ।

निर्मलाको न्यायका लागि भन्दै लामो समयसम्म विरोध र आन्दोलनका कार्यक्रम भए । तर पछिल्लो समय त्यस्ता गतिविधि रोकिएका छन् । जसले गर्दा प्रहरीको अनुसन्धान प्रभावकारी हुने अपेक्षा गरिएको छ । त्यतिमात्रै होइन, राष्ट्रिय र अन्तर्राष्ट्रियमै चर्चा पाएको निर्मला हत्याकाण्डलाई सरकारमा सुदूरपश्चिमकै प्रधानमन्त्री भएकाले अझै चासोको रुपमा हेरिएको छ ।

कञ्चनपुरका प्रहरी प्रमुख उमा प्रसाद चर्तुवेदी अनुसन्धानको सुक्ष्म तरिकाले अनुसन्धान भइरहेको र चाँडै अपराधी पत्ता लाग्नेमा विश्वस्त हुनुहुन्छ ।

राष्ट्रिय अन्तर्राष्ट्रिय चर्चा पाएको यस घटनाका दोषीलाई कठघरामा ल्याउन सके न्याय नमरेको सन्देश दिन सकिने थियो ।

प्रतिक्रिया दिनुहोस्