दीर्घकालीन दमः धूमपान गर्ने र धुलो–धुवाँमा बस्नेमा बढी समस्या

news

प्रज्ञा तिमल्सिना र उत्तम मानन्धर (इमेज)

काठमाडौं, मंसिर ४ । ‘लाखौंलाई खोजौं, लाखौंको उपचार गरौं’ भन्ने नारासहित श्वास–प्रश्वाससम्बन्धी दीर्घकालीन दम दिवस बुधबार नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ ।

लामो समय धूमपान गर्ने र धुलो–धुवाँमा बस्ने मानिसमा यो समस्या बढी देखिएको छ ।

धूमपान, सुर्तीजन्य पदार्थको सेवन, प्रदूषण र दाउराको प्रयोग गरेर चुलो बाल्ने ४० वर्ष कटेका धेरै मानिसमा श्वास–प्रश्वाससम्बन्धी दीर्घकालीन दम (सीओपीडी)को समस्या बढी देखिन थालेको चिकित्सकहरु बताउँछन् ।

लामो समय धूमपान र सुर्तीजन्य पदार्थको सेवन गर्ने व्यक्तिमध्ये पनि यो समस्याबाट पुरुषहरु बढी प्रभावित छन् ।

धूमपान सेवन गरेको १० वर्षपश्चात् यो रोगको समस्या देखिन थाल्ने र विस्तारै स्थायीरुपमा श्वासनलीलाई खुम्चाउँदै लगी श्वास–प्रश्वासमा समस्या देखिने छातीरोग विशेषज्ञ डा. निरज बमले जानकारी दिए ।

त्रिवि शिक्षण अस्पताल महाराजगन्जको आकस्मिककक्षमा सबैभन्दा बढी भर्ना हुने बिरामीमा सीओपीडीका बिरामी बढी भएको छातीरोग विशेषज्ञहरु बताउँछन् ।

विश्वमा सन् २०२० सम्म मृत्यु हुने कारक रोगमध्ये सीओपीडी तेस्रो नम्बरमा पुग्ने अनुमान गरिएको छ ।

यो रोग लागेमा लगातार खकारसहितको खोकी लागिरहने, सास फेर्न गाह्रो हुने, छाती दुख्ने, शरीर कमजोर हुने, खान मन नलाग्ने, अक्सिजनको मात्रा कम भइ छालाको रङ नीलो हुनेलगायतका लक्षण देखापर्छ ।

लक्षण देखिएपछि पनि ध्यान नदिने हो भने फोक्सो, मुटु र शरीरका अन्य अंगमा असर गर्ने छातीरोग विशेषज्ञ डा. पंकज पन्त बताउँछन् ।

जाडोको समयमा बढी देखिने यो रोगबाट दाउरा बाल्ने चुलोबाट निस्कने धुवाँमा बस्ने महिला पनि बढी प्रभावित रहेका छन् ।

यस्तै, प्रदूषणको समस्याका कारण पनि श्वास–प्रश्वासको नली साँघुरिने हुँदा सचेत हुन छातीरोग विशेषज्ञ डा. निरज बम सुझाव दिन्छन् ।

धुलो–धुवाँबाट बालबालिका पनि उत्तिकै जोखिममा भएपनि सीओपीडीको समस्या भने नदेखिने डा. बमले बताए ।

धूमपान नगर्ने, प्रदूषणबाट बच्ने र समय–समयमा फोक्सोको परीक्षण गर्ने तथा समस्या देखिएका बिरामीले पनि जीवनभर औषधि सेवन गर्ने हो भने पनि यसको समस्याबाट धेरै हदसम्म बच्च सकिने डा. छातीरोग विशेषज्ञ डा. पन्त बताउँछन् ।

दिवसका अवसरमा त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा यस रोगसम्बन्धी निःशुल्क शिविरसमेत राखिएको थियो ।

भिडियो हेर्नुहोस्

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...