तिहारका सम्बन्धमा फैल्याइएको भ्रममा नपर्न आह्वान

news
फाइल तस्वीर ।

काठमाडौं, कात्तिक ३ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको तिहार पर्वका सम्बन्धमा भ्रम सिर्जना गर्नेगरी विभिन्न माध्यमबाट भइरहेको प्रचार–प्रसारका पछि नलाग्न आह्वान गरेको छ ।

समितिले आइतबार विज्ञप्ति प्रकाशित गरी यही कात्तिक ८ गते शुक्रबारदेखि यमपञ्चक सुरु हुने जनाएको छ ।

कात्तिक ८ गतेदेखि यमदीपदान सुरु हुन्छ ।

कात्तिक ९ गते शनिबार काग तिहार, कात्तिक १० गते आइतबार कुकुर तिहार र लक्ष्मीपूजा, कात्तिक ११ गते सोमबार गाईगोरु र आत्म (म्ह) पूजा पर्ने समितिका सदस्यसचिव सूर्यप्रसाद ढुंगेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यसैगरी, कात्तिक १२ गते मंगलबार गोवर्द्धनपूजा, यमद्वितीया, भाइटीका, किजापूजा र नेपाल संवत् मनाउनुपर्ने समितिको निर्णय छ ।

यसैअनुसार तिहार पर्व मनाउन समितिले ज्योतिष, धर्मशास्त्रलगायत विभिन्न विषयका विद्वान्सँगको राय–सुझावपछि निर्णय गरेको हो ।

केही व्यक्तिले कात्तिक १३ गते भाइटीका गर्ने भनी गरिरहेको प्रचार–प्रसार शास्त्रसम्मत् नहुने सदस्यसचिव ढुंगेलले राससलाई बताए ।

समितिले २०७७ सालको असोज महिनामा अधिकमास (मलमास) पर्ने जानकारीसमेत आमसर्वसाधारणमा गराएको छ ।

विभिन्न धार्मिक कृत्यका लागि एक वर्षअघि नै मलमासको जानकारी आममानिसलाई दिनुपर्ने भएकाले सार्वजनिक गरिएको उनले बताए । रासस

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...