
विवेक खड्का
दाङ, भदौ २२ । दाङका प्राकृतिक स्थलहरु पर्यटकीय क्षेत्रको रुपमा विकास हुन थालेका छन् ।
आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने तथा प्राकृतिक दृश्यावलोकन गर्न चाहनेहरुका लागि जिल्लामा रहेका प्राकृतिक पोखरी तथा झरनाहरुको विकास तथा त्यहाँसम्म पुग्ने बाटो निर्माण एवं मर्मतमा प्रदेश सरकारले लगानी गरिरहेको छ ।
बबई गाउँपालिकाको पुरन्धारा झरना जिल्लाकै ठूलो झरना मानिन्छ । उक्त झरना भएको स्थानसम्म पुग्नका लागि राम्रो बाटो नभए पनि मानिसको आवतजातव बढ्न थालेको र पिकनिक स्थलका रुपमा समेत प्रयोग हुन थालेपछि अहिले पार्कसहितको पिकनिक स्थल निर्माण गरिएको छ ।
यसैगरि झरनासम्म पुग्ने बाटोमा स्थानीय स्रोत प्रयोग गरि रेलिङ हालिएको छ । केही वर्षदेखि मनोरञ्जन तथा पिकनिकका लागि यो स्थान युवाहरुको मुख्य गन्तव्य बन्दै गएपछि प्रदेश सरकारको लगानीमा यी कामहरु भएको डिभिजन वन कार्यालय दाङले जनाएको छ ।
झरनाबाट खसेको पानीमा पौडी खेल्न चाहनेहरुका लागि यहाँ पोखरी निर्माण गर्ने योजना गाउँपालिकाले बनाएको छ ।
घोराही उपमहानगरपालिकामा रहेको ज्यामिरे र बाह्रकुने दहसम्म पुग्नेहरुको सुविधालाई मध्यनजर गर्दै घोराही उपमहानगरपालिकाले केही वर्षदेखि लगानी गर्दै आएको छ । यसमा प्रदेश सरकारले थपेको लगानीले सिढी निर्माणको काम भइरहेको छ । पछिल्लो समय यो स्थान पनि प्राकृतिक दृश्यावलोकन तथा बोटिङ गर्न चाहनेहरुको गन्तव्यस्थल बन्न थालेको छ ।
दाङ जिल्लामा प्रदेश सरकारले स्थानीय सरकारसँगको सहकार्यमा सुरु गरेका पर्यटन प्रवर्द्धनका कार्यले जिल्लालाई पर्यटकीय गन्तव्यस्थलका रुपमा विकास गर्ने भन्दै स्थानीयबासीसमेत खुशी देखिएका छन् । जिल्लामा रहेका प्राकृतिक पोखरीको संरक्षण तथा कृत्रिम पोखरी निर्माणले वातावरण संरक्षणका साथै पर्यटन प्रवर्द्धनले जिल्लाको आर्थिक क्षेत्रलाई समेत सकारात्मक प्रभाव पार्ने वातावरणको क्षेत्रमा कृयाशील श्रीमन न्यौपाने बताउँछन् ।
साना साना लगानीका योजनाहरु कर्यान्वयन भए पनि दुई–दुई करोडका ३ वटा योजना भने सञ्चालन हुन सकेनन् । एक आर्थिक वर्षमा चार जना डिभिजन वन अधिकृत परिवर्तन हुनु तथा प्रदेश सरकार अन्र्तगतको रकम ढिलो आउनुका कारण सबै योजना सम्पन्न गर्न नसकिएको डिभिजन वन कार्यालय दाङले जनाएको छ ।
लगानी भएका क्षेत्रले भने जिल्लाको पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने वन कार्यालयको विश्वास छ ।
प्रतिक्रिया दिनुहोस्