४ श्रावण २०८२, आइतबार | Sun Jul 20 2025


मोहर्रम पर्वमा प्रदर्शनका लागि राखिने तहजिया बनाएर मनग्गे आम्दानी


0
Shares

बासुदेव बर्मा

कपिलबस्तु, भदौ २२ ।  मुस्लिम धर्मावलम्बीहरुको पर्व मोहर्रमका बेला कपिलबस्तुमा प्रदर्शनका रुपमा राखिने तहजिया बाबा बनाउने पेशा राम्रो आम्दानीको स्रोत बनेको छ । रंगीचङ्गी कागज र बासको सहायताले लामो आकारमा बनाइने तहजिया बाबाको बिक्रीबाट करीब २ दर्जन परिवारले राम्रो आम्दानी गरेका छन् ।

पछिल्ला वर्षमा हिन्दु धर्माबलम्बीले पनि तहजियाबाबाको पुजाआजा गर्न थालेपछि त्यसको खरिदबिक्री समेत बढेको हो । तहजिया बाबा निर्माण गरी बिक्री गर्ने व्यापारीले यस बर्ष राम्रो आम्दानी गरेका छन् । एक जनाले एक सय बढी तहाजिया बिक्री गरेको बताइएको छ ।

तौलिहवामा मात्र तहजिया बनाई बिक्री गर्नेहरुको संख्या दर्जनभन्दा बढी छ । यसका लागि उनीहरुले ३ महिना अघिदेखि नै बासलाई लचिलो बनाउने र रंगीचंगी काजगको व्यवस्था गरि बनाउन थाल्छन् ।

कपिलवस्तु नगरपालिकाका–१मा दर्जनबढी परिवारहरुले तहजिया बाबा बनाउने यो पेशालाई आफ्नो मौसमी पेशा बनाएका छन् । घर परिवारका सवै सदस्यहरु मिलेर २÷३ महिनामा तहजिया बाबा बनाई बेच्दा १ देखि २ लाख रुपैयाँ आम्दानी हुने गरेको कपिलवस्तु नगरपालिका वडा नं. १ का तहजिया व्यापारी अब्दुल समद पखियाले बताए ।

अर्का व्यापारी साकिर अलि पखियाले ६० देखि ७० हजार रुपैयाँ आम्दानी हुने गरेको बताए ।

मुस्लिम समुदायले शोक पर्वका रुपमा मनाउने मोहर्रम पर्व ईस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मदका छोरी पट्टीका नाती हजरत हुसेन र उनका परिवारलाई ईराकको कुफा र बसरा शहर बीचको करवलामा हत्या गरिएको दिनको स्मरण गर्दै मुस्लिम धर्माबलम्बीहरुका धार्मिक गुरु हजरते इमामे हुसैनको सम्झनामा मनाइने पर्वमा उनको प्रतिक स्वरुप तहजियाको पुजा गरिने प्रचलन छ ।

अहिले बजारमा २ देखि १० मिटर अग्लोसम्म तहजिया विक्री भईरहेको छ । तहजिया भाकल गरे सजिलै मनोकांक्षा पुरा हुने भन्दै हिन्दु समुदायका श्रद्धालु भक्तजनहरुले मनोकांक्षा पुरा भएपछि आफ्नो गच्छेअनुसार तहजिया खरिद गरि मुहर्रमका दिन करबला(चिहान) मा पुजा आजा गरि विर्सजन गर्ने गरेको बताइन्छ ।

मुस्लिम तथा हिन्दु समुदायले मिलेर मनाउने यो पर्व तराई मधेसमा धार्मिक सद्भाव बढाउने पर्वको रुपमा विकास हुदै आएको छ ।