४ श्रावण २०८२, आइतबार | Sun Jul 20 2025


प्राचीन बस्तीहरुको पुनःनिर्माण र ‘स्मार्टसिटी’ विकासमा कोरियाले सघाउने


0
Shares

काठमाडौं, भदौ २० । काठमाडौं उपत्यकाका प्राचीन बस्तीहरुको पुनःनिर्माण र ‘स्मार्टसिटी’हरुको विकासका लागि दक्षिण कोरियाले सहयोग गर्ने भएको छ ।

ऐतिहासिक महत्वको काठमाडौं उपत्यकाका साँखु, बुङ्मती र खोकनाको परम्परागत बस्तीहरुको पुनःनिर्माण गर्न तथा सोसँग जोडिएका क्षेत्रहरुमा स्मार्टसिटी बनाउनका लागि राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, काठमाडौं उपत्यका विकास प्राधिकरण र सियोल हाउजिङ एन्ड कम्युनिटी कर्पोरेसनबीच सियोलमा शुक्रबार समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

समझदारीअनुसार पहिलो चरणमा सियोल हाउजिङ एन्ड कम्युनिटी कर्पोरेसनले प्राचीन बस्तीकारुपमा रहेको साँखु, बुङ्मती र खोकनाको मुख्य बस्ती र सोसँग जोडिएका क्षेत्रहरुको गुरुयोजना तयारी एवं विभिन्न योजनाहरुको विस्तृत परियोजना प्रस्ताव तयार पार्नका लागि प्राविधिक सहयोग उपलब्ध गराउनेछ ।

सो परियोजना प्रस्तावका आधारमा कोरिया सरकार तथा निजी क्षेत्रमार्फत् लगानी परिचालन गरिने भएको प्राधिकरणले जनाएको छ ।

यस्तै, कर्पोरेसनले स्मार्टसिटी विकासका सन्दर्भमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरण र काठमाडौं उपत्यका विकास प्राधिकरणको संस्थागत क्षमता विकासमा सहयोग पुर्‍याउने जनाइएको छ ।

समझदारीपत्रमा नेपालका तर्फबाट प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन इकाइका निर्देशक नवराज प्याकुरेल र कोरियाका तर्फबाट कार्यकारी निर्देशक इन गो काङले हस्ताक्षर गरेका छन् ।