
काठमाडौं, भदौ २० । अर्थमन्त्री डा. युवराज खतिवडाले निजी क्षेत्र जिम्मेवार र जवाफदेही हुनुपर्ने बताएका छन् ।
राष्ट्रिय व्यवसायिक पहल (एनबीआइ)ले आयोजना गरेको दीगो विकासका लागि जिम्मेवार व्यवसाय सम्मेलनमा मन्त्री खतिवडाले निजी क्षेत्र दीगो विकासको सबैभन्दा महत्वपूर्ण पक्ष भएकाले जिम्मेवार हुनुपर्ने बताएका हुन् ।
दीगो विकास लक्ष्य पूरा गर्न सरकारी पक्षबाट नीति तथा कार्यक्रमहरु बनाइएपनि ती लक्ष्य पूरा गर्नका लागी निजी क्षेत्र पनि जिम्मेवार हुनुपर्ने उनको भनाइ छ ।
सामाजिक सुरक्षा, ज्यालादर, संस्थागत सामाजिक सुरक्षा, शान्ति र विकास, खाद्यान्न, शिक्षा, लैंगिक समानतालगायतमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण हुने उनले उल्लेख गरे ।
गरिबी निवारण, सामाजिक सुरक्षा, ऊर्जा तथा श्रमको क्षेत्रमा निजी क्षेत्रको सक्रियता रहने भएकाले पनि जिम्मेवार हुनुपर्ने मन्त्री खतिवडाले बताए ।
कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. स्वर्णिम वाग्लेले अर्थतन्त्र बलियो बनाउन आयात घटाउनेभन्दा पनि निर्यात प्रवर्द्धनमा जोड दिनुपर्ने बताए ।
सरकारले आयातको चिन्ताभन्दा पनि अर्थतन्त्रको आकारलाई बलियो बनाउनका लागि वैदेशिक लगानी बढाउनुपर्ने र निर्यातमुखी कार्यक्रम ल्याउनुपर्ने उनको भनाइ थियो ।
प्रतिक्रिया दिनुहोस्