४ श्रावण २०८२, आइतबार | Sun Jul 20 2025


गड्डाचौकी नाकाबाट भित्रिने पर्यटक घटे


0
Shares

कञ्चनपुर, भदौ २० । कञ्चनपुरको गड्डाचौकी नाकाबाट भित्रिने पर्यटकको संख्यामा सामान्य कमी आएको छ । सरकारले २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरे पनि भ्रमण वर्ष सुरु हुन तीन महिना बाँकी हुँदासमेत पर्यटकहरुलाई खासै आकर्षित गर्न नसकेको देखिन्छ ।

अध्यागमन कार्यालय गड्डाचौकीका अनुसार गत वर्षको जनवरीदेखि अगस्टसम्म सो नाकाबाट एक हजार ८ सय ९६ जना पर्यटक भित्रिएका थिए । सन् २०१९ को सोही अवधिमा गड्डाचौकी नाकाबाट एक हजार ८ सय ६३ जना पर्यटक भित्रिएको अध्यागमन कार्यालय गड्डाचौकीको तथ्यांकमा उल्लेख छ । 

विगतका वर्षमा पर्यटकको संख्या बढेकाले यसवर्ष पनि पर्यटकहरुको संख्या उल्लेख्य रुपमा बढ्नेमा आफूहरु आशावादी रहेको अध्यागमन कार्यालय गड्डाचौकीका सूचना अधिकारी शैलेन्द्र बडुले जानकारी दिए । उनका अनुसार यस नाकाबाट अमेरिका, बेलायत, फ्रान्सलगायतका देशका नागरिक भित्रिने गरेका छन् । भारत हुँदै उक्त नाकाबाट नेपाल भित्रिने पर्यटकहरुको रोजाइमा पोखरा, काठमाडौं, मुक्तिनाथ, चितवन तथा बर्दिया राष्ट्रिय निकुञ्ज पर्ने बताइएको छ ।

बाटोघाटो तथा सुरक्षाको व्यवस्था नहुनु र कतिपय पर्यटकीय क्षेत्रको प्रचारप्रसार हुन नसकेकाले पनि सुदूरपश्चिमका पर्यटकीय स्थल पर्यटकको रोजाइमा पर्न सकेका छैनन् ।

सन् २०१८ मा गड्डाचौकी नाकाबाट नेपाल भित्रिने पर्यटकको संख्या २ हजार ९ सय ३० रहेको थियो । सन् २०१७ मा यो नाकाबाट भित्र्निे पर्यटकको संख्या २ हजार ७ सय ४५ रहेको थियो ।