४ श्रावण २०८२, आइतबार | Sun Jul 20 2025


मेलम्ची आयोजनाको काम झन् अन्योलमा, को–के भन्छन् ? (भिडियो)


0
Shares

अक्कल कुँवर र भरत केसी (इमेज)

मेलम्ची (सिन्धुपाल्चोक), भदौ १९ । इटालियन कम्पनी ‘सीएमसी’ले आयोजनाबाट हात झिकेपछि अन्योलमा रहेको मेलम्ची खानेपानी आयोजना अन्तिम चरणमा आएर पनि अन्योलकै अवस्थामा छ ।

बक्यौता रकम भुक्तानी गर्नुपर्ने माग राख्दै आयोजनाका सम्पूर्ण काम ठप्प पारेर बुधबारदेखि पुनः आयोजनाका मजदुर, भेन्डर सप्लायर्सहरु आन्दोलनमा उत्रिएपछि अन्योल थप लम्बिएको हो ।

गत मंसिर २९ गते निर्माणको जिम्मा पाएको सीएमसीले आयोजनाबाट हात झिकेपछि आयोजनाले पनि २४ माघमा सीएमसीसँग ठेक्का सम्झौता तोडेको थियो ।

त्यसपछि ९ महिनाअघिदेखि ठप्प रहेको राष्ट्रिय गौरवको आयोजनाको काम सुचारु हुनुको सट्टा झन्–झन् अनिश्चित बन्दै गएको छ ।

संघर्ष समिति गठन गरेर भुक्तानीको माग गर्दै दुई महिनाअघि पनि मजदुर, भेन्डर सप्लायर्स काम ठप्प पारेर आन्दोलनमा उत्रिएपनि समस्या समाधान गर्ने सरकारको आश्वासनपछि उनीहरुले आन्दोलन स्थगित गरेका थिए ।

तर, दुई महिना बितिसक्दासमेत माग सम्बोधन नभएको भन्दै उनीहरु फेरि आन्दोलनमा उत्रिएका छन् ।

सीएमसीको करारमा रहेका स्थानीय भेन्डर, सबकन्ट्राक्टर, स्थानीय मजदुरको बक्यौता रकम भुक्तानी पाउनुपर्ने मुख्य माग उनीहरुको छ ।

सीएमसीका प्राविधिक सबकन्ट्राक्टर श्रीराम न्यौपाने नगद र जिन्सी सामग्रीसहित सीएमसीले बैंक ‘ग्यारेन्टी’ राखेको रकमबाट सरकारले जफत गरेको चार अर्ब १० करोड रुपैयाँबाटै भुक्तानी पाउनुपर्ने बताउँछन् ।

संघर्ष समितिले कर्मचारी, मजदुर, आपूर्तिकर्ता र सहायक निर्माण कम्पनीको गरी करिब एक अर्ब ६७ करोड रुपैयाँ बराबरको रकम भुक्तानी गर्न बाँकी रहेको दाबी गरेको छ ।

मेलम्ची खानेपानी आयोजनाका उपकार्यकारी निर्देशक रामप्रसाद खरेलले मजदुरहरुको बक्यौता रकम भुक्तानी छिट्टै हुने तर स्थानीय ठेकेदारको  भुक्तानीको लागि कानुनी समस्या रहेको बताए ।

तर, कर्मचारी र मजदुरहरुले भने बक्यौता रकम भुक्तानीको लागि सरकारले अघि बढाएको योजना आफूहरुलाई मान्य नहुने चेतावनी दिएका छन् ।

स्थानीय राजनीतिक दलका नेताहरुले पनि बाँकी सम्पूर्ण रकम भुक्तानी नदिए काम गर्न नदिने चेतावनी दिएका छन् ।

आयोजनाको ‘हेडवर्क्स’ तथा सुरुङ ‘फिनिसिङ’को काम बाँकी छ ।

यस्तै, काठमाडौं उपत्यकामा पाइपलाइन जडान तथा सुन्दरीजलमा पानी प्रशोधनस्थलको काम केही बाँकी छ ।

सरकारले आफ्नो नीति तथा कार्यक्रममै चालू आर्थिक वर्षभित्र मेलम्ची खानेपानी आयोजना सम्पन्न गर्ने घोषणा गरेको थियो ।

तर, १५ महिनाको समयावधि राखेर आयोजनाको हेडवर्क्स निर्माण र सुरुङ फिनिसिङको ठेक्का भने चिनियाँ कम्पनी सिनो हाइड्रोलाई दिइएको छ ।

भिडियो हेर्नुहोस्