४ श्रावण २०८२, आइतबार | Mon Jul 21 2025


धनकुटामा यातायात व्यवस्था कार्यालयको सेवा प्रभावकारी भएन


0
Shares

-कविराज घिमिरे/ईमेज

धनकुटा । धनकुटासहित पूर्वी पहाडका चार जिल्लालाई सेवा दिने उद्देश्यले यातायात व्यवस्था सेवा कार्यालय स्थापना भएको ४ महिना बितिसकेको छ तर आन्तरिक व्यवस्थापन र पूर्वाधार विकास फितलो हुँदा सेवाप्रवाह प्रभावकारी हुन सकेको छैन ।

प्रदेश राजधानीको माग राख्दै लामो समयसम्म चलिरहेको धनकुटाको आन्दोलन मथ्थर पार्न प्रदेश सरकारले धनकुटामा यातायात व्यवस्था सेवा कार्यालय स्थापना गरेको थियो ।

सो अवसरमा मुख्यमन्त्री शेरधन राईले आवश्यक पूर्वाधार र कर्मचारीको व्यवस्थापन गरेर यातायातका सबै प्रकारका सेवा धनकुटा कार्यालयबाटै उपलब्ध गराउने वचन दिएका थिए ।

जसका कारण धनकुटासहित भोजपुर संखुवासभा, र तेह्थुमवासीमा पनि खुसीयाली छाएको थियो ।

तर कार्यलय स्थापना भएको चार महिना बितिसक्दासम्म पनि कार्यालयले सेवा प्रवाह प्रभावकारी रुपमा गर्न सकेको छैन ।

साना–साना कामको लागि पनि यातायात कार्यालय इटहरी नै धाउनुपर्ने बाध्यताको अन्त्य नभएको स्थानीय दिनेश राईको गुनासो छ ।

कार्यालय स्थापना हुँदा सवारी दर्ता नवीकरण, रुट परमिट र सवारी कर असुली, सबारी साधनको जाँचपास लगायतको अधिकार दिएको थियो ।

त्यस्तै भदौको पहिलो हप्ता सवारी चालक अनुमति पत्र नवीकरण, यातायात सेवाको नाम पञ्जीकरण, सवारीदर्ता लगायत ६ प्रकारका अधिकार थप गरेको थियो ।

अधिकार थप गरे पनि पूर्वाधार अभाव, अफिस कोण, तथा सफ्टवेर उपलब्ध नहुँदा सेवा प्रवाह प्रभावकारी नभएको यातायात व्यवस्था सेवा कार्यालय धनकुटाका प्रमुख ईश्वर थापा बताउँछन् ।

यातायात व्यवस्था कार्यालयबाट प्रदान हुने सबै किसिमका सेवा उपलब्ध गराउने भनिए पनि ट्रायल लिने र सवारी चालक अनुमतिपत्र प्रदान गर्नेजस्ता मुख्य कामको जिम्मेवारी अहिलेसम्म पाएको छैन ।