४ श्रावण २०८२, आइतबार | Mon Jul 21 2025


वन जोगाउन सक्रिय


0
Shares

सिन्धुली, भदौ १७ । सिन्धुलीको कमलाखोचस्थित निपानेको विकासपुर वन जोगाउन स्थानीय सक्रिय भएका छन् ।

वन समूहका उपभोक्ताहरु मिलेर वन क्षेत्रमा सामूहिकरुपमा सरसफाइ र गोडमेल गर्न थालेपछि विकासपुर वन जिल्लाकै नमुना वन बनेको छ ।

विगतमा उजाड र नांगो अवस्थामा रहेको चुरे वन क्षेत्रमा स्थानीयको सक्रियतासँगै आर्थिक उपार्जनको बाटोसमेत खुलेको उनीहरु बताउँछन् ।

विकासपुर वन समूहको करिब २९० हेक्टर वन क्षेत्रका ११६ घरधुरीका करिब एक हजार उपभोक्ताहरुले वन क्षेत्रको विकासका लागि १० वर्षे कार्ययोजना नै बनाएका छन् ।

यसबाट चुरे कटान, भूक्षय र दैवी प्रकोपका घटनामासमेत कमी आउनुका साथै स्थानीय उपभोक्ताहरुले पर्याप्त सुविधा पाएको उनीहरु बताउँछन् ।

विगतमा चुरे कटान र बाढी–पहिरोका कारण खेतीयोग्य जग्गाहरुको नोक्सान हुँदा निपानेका बासिन्दाहरुले जीवनयापन गर्नसमेत नसक्ने अवस्थामा रहेका थिए ।

तर, चुरे वनक्षेत्रलाई समुदायले नै संरक्षण गरी दिगोरुपमा व्यवस्थापन हुन थालेपछि खेतवारीहरुमासमेत अन्नबालीको उत्पादन बढ्न थालेको उनीहरु बताउँछन् ।