
काठमाडौं, साउन २० । राष्ट्रिय युवा परिषदले राज्यको प्रत्येक निकायमा युवाहरुको पहुँच पुर्याउनु पर्नेमा जोड दिएको छ ।
अन्तर्राष्ट्रिय युवा दिवसको सन्दर्भमा युवा परिषदले आज काठमाडौंमा पत्रकार सम्मेलन गरी राज्यका महत्वपूर्ण निकायमा युवाहरुको पहुँच नभएको भन्दै सरकारको ध्यानाकर्षण गराएको हो ।
‘शिक्षामा रुपान्तरण : उद्यमशिलता र नवप्रवर्तन’ भन्ने नाराकासाथ यही साउन २७ अन्तर्राष्ट्रिय युवा दिवस मनाउन सबैसँग अपिलसमेत गरिएको छ ।
प्रदेश नम्बर–३ का पर्यटन मन्त्री अरुण नेपालले प्रदेशस्तरीय युवा भेला गरिने भन्दै युवा अधिकारको लागि सरकार सचेत रहेको बताए ।
राष्ट्रिय युवा परिषदका अध्यक्ष माधव ढुंगेलले युवाका मुद्दा मुखरित गर्नको लागि परिषदले काम गरिरहेको बताए । उनले संविधानमा उल्लेखित युवाका सरोकार ओझेलमा परेको भन्दै कार्यान्वयन गर्नका लागि सरकारलाई दवाब दिने जानकारी दिए ।
कार्यक्रममा विभिन्न राजनीतिक दलसँग आवद्ध युवाहरुले युवाहरुको प्रमुख शत्रु बेरोजगारी भएको भन्दै स्वरोजगारको लागि पहल गर्नुपर्ने धारणा राखेका थिए ।
प्रतिक्रिया दिनुहोस्