
दीपक श्रेष्ठ
काठमाडौं, साउन १९ । बालुवाटारस्थित ललिता निवासको ११३ रोपनी जग्गा हिनामिनाको घटना अहिले छानबिनको क्रममा रहेको छ । उक्त विवादित जग्गा छानबिनकै अवस्थामा रहेको बेलामा पनि त्यहाँ संरचना निर्माणको काम भने रोकिएको छैन ।
काठमाडौं महानगरपालिका वडा नं ४, बालुवाटारस्थित ललिता निवासको ११३ रोपनी जग्गा हिनामिना भएकोबारे छानबिन गर्न मन्त्रिपरिषद्को बैठकले उक्त जग्गा रोक्का गरेको छ । रोक्का गरिएको जग्गाभित्र कुनै किसिमको संरचना निर्माण गर्न नदिनु भन्दै सो जग्गाको छानविन गर्दै आएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि महानगरपालिकालाई पत्राचार गरिसकेको छ । तर यसरी रोक्का गरिएको ललिता निवासभित्रको जग्गामा भाटभटेनी सुपर मार्केटको स्टोरसँगै रहेको झण्डै साढे दुई रोपनी जग्गामा भने भवन निर्माण भइरहेको छ । उक्त संरचना कसको हो र कसले निर्माण गरिरहेको छ भन्नेबारे वडा कार्यालयसमेत बेखबर देखिएको छ ।
काठमाडौ महानगरपालिको वडा नम्बर ४ कार्यालयले उक्त जग्गामा कुनै पनि किसिमको संरचना निर्माणका लागि अनुमति नदिइएको जनाएको छ । वडा अध्यक्ष मोहनबहादुर विष्टले अनियमित तरिकाले नक्सा पास नगरी निर्माणाधीन उक्त भवन भत्काउने बताए ।
ललिता निवास जग्गा प्रकरणमा अहिले विभिन्न व्यक्तिसँग बयान लिने क्रम चलिरहेको छ । सरकारले मुआब्जा दिई अधिग्रहण गरि लिएको ललिता निवास क्याम्पभित्रको सरकारी जग्गा गैरकानूनी तरिकाले व्यक्ति विशेषलाई फिर्ता दिइएपछि यो घटनामा अहिले छानबिनको भइरहेको छ । यसले गर्दा उक्त जग्गामा कुनै पनि किसिमको संरचना निर्माणमा रोक लगाइएको छ । तर, व्यवहारमा भने त्यसको पालना भएको देखिंदैन ।
रोक्का भएको विवादित जग्गामा नक्सा नै पास नगरी भवन निर्माण भइरहेकाले सम्बन्धित निकायले अब यसमा कसरी कारवाही अगाडि बढाउला ?
प्रतिक्रिया दिनुहोस्