
काठमाडौं, साउन १६ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणले विचाराधीन मुद्दाहरुमा सन्चारमाध्यमहरुले बढाइ–चढाइ गरिदिँदा फैसला गर्ने न्यायाधीशहरुलाई अप्ठ्यारो हुने गरेको बताएका छन् ।
सर्वोच्च अदालतले बिहीबार सन्चारमाध्यमहरुसित गरेको अन्तरक्रियामा प्रधानन्यायाधीश राणाले फैसला हुनुअगावै सन्चारमाध्यमहरुले लेख्दा न्यायमा ढिलाइसमेत भइरहेको बताए ।
सर्वोच्चका न्यायाधीश ईश्वर खतिवडाले न्यायालयभित्र धेरै कुराहरु सुधार गर्नुपर्ने आवश्यक रहेको भन्दै सर्वोच्च अदालतले चाहेर पनि धेरै काम गर्न नसकेको बताए ।
अदालत सन्चारमाध्यमहरुलाई सूचनाको हकबाट वन्चित गर्ने पक्षमा भने नरहेको भन्दै उनले न्यायालयको पञ्चवर्षीय रणनीतिक योजना कार्यान्वयन गर्न पनि सन्चारजगत्को सहयोग आवश्यक रहेको धारणा राखे ।
कार्यक्रममा सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार नृपध्वज निरौलाले अदालत र सन्चारमाध्यमको सम्बन्ध प्रभावकारी र सन्तुलित बनाउन सन्चार नीतिको मस्यौदा भइरहेको जानकारी दिए ।
सर्वोच्च अदालतबाट हुने आदेश र फैसलाको भाषा जस्ताको तस्तै राख्नुपर्ने अपेक्षा आफूहरुको रहेको भन्दै उनले इजलासमा बहस भइरहेका विषयमा भने अनुमानको आधारमा समाचार नबनाउन आग्रह गरे ।
कार्यक्रममा न्यायालयमा स्रोत–साधन तथा जनशक्तिको अभावको विषयमा पनि चर्चा गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्