४ श्रावण २०८२, आइतबार | Sun Jul 20 2025


मजुवा गाउँको जमिनमा धाँजा फाट्न थाल्यो, पहिरोको उच्च जोखिम (भिडियो)


0
Shares

-कविराज घिमिरे/ईमेज

धनकुटा । पहिरोको उच्च जोखिमका कारण धनकुटाको साँगुरीगढी गाउँपालिका–६ को मजुवा गाउँ त्रसित बनेको छ ।

पहिरोले जमिन चिराचिरा पर्न थालेपछि स्थानीय ढुक्कसँग निदाउन पनि छाडेका छन् ।

जमिन धाँजा फाटिसके पनि धनकुटाको साँगुरीगढी गाउँपालिकास्थित मजुवाका स्थानीय जोखिम मोलेर बस्न बाध्य छन् ।

गाउँका २७ घरपरिवारमध्ये १३ परिवारको घर पहिरोको उच्च जोखिममा छ ।

घरमुनिबाट पहिरोले विस्तारै माथिल्लो भूभाग तानिरहेको छ । केही परिवारले घर छाडिसकेका छन् भने कोही जोखिम मोलेरै बसिरहेका छन् ।

यस क्षेत्रमा पहिले सानातिना पहिरा खस्ने गरेको भए पनि विगत ३ वर्षयता भने ठूलो पहिरो खस्न थालेको हो ।

पहिरोले कतिपय घरबारविहीन भएका छन् भने कोही जोखिमका कारण घर छाडेका छन् ।

पहिरोको जोखिम बढेपछि २ वर्षअघि माथिल्लो भेगतर्फ बसाइ सरेका अमतृवहादुर घागाको घरैनजिक अहिले फेरि पहिरो आइसकेको छ ।

खोलाको पहिरोबाट जग्गाजमिन जोगाउन नसकेपछि घरबाट टिन तथा काठपात निकालेर घर छाडेका छन् ।

घरसहित करिब नौ रोपनि जग्गा पहिरोले तान्न थालेपछि घरबारविहीन बनेको उनको गुनासो छ ।

सोही गाउँका ज्ञानवहादुर घागा मगरले घर छाडेको १५ दिनभन्दा बढी भइसक्यो । अहिले उनी छोरीज्वाईको घरमा वस्दै आइरहेका छन् ।

घर बरीपरिको जमिन धाँजा फाटिसके पनि  अर्का स्थानीय सरोज मगर भने जोखिम मोलेर घरमै बसिरहेको बताउँछन् ।

यता राहत सहयोग र उद्धारको लागि जिल्ला प्रशासन कार्यालय, रेडक्रस, नेपाली  सेना, गाँउपालिका तथा आफुहरु जुटिरहेको बडाध्यक्ष दिपक मगरको भनाइ छ ।

पहिरोकै कारण भेडेटार–रवि राँके सडक समेत उच्च जोखिममा परेको छ ।

मझुवासहित मुक्तेन गाउँ पुग्ने कच्ची सडक समेत चर्किएर चिरा चिरा परेकाले गाउँसँग सडक सम्पर्क टुटेको छ ।

जसका कारण स्थानीय जोखिम मोलेरै पहिरोमाथिबाट आवतजावत गर्न बाध्य छन् ।

यस्ता उच्च जोखिमका क्षेत्रमा सम्बन्धित संयन्त्रले सशक्त किसिमले पहल गर्न आवश्यक छ ।