४ श्रावण २०८२, आइतबार | Sun Jul 20 2025


सडकको कन्तबिजोग (भिडियो)


0
Shares

दीपक श्रेष्ठ र योगेश लामा (इमेज)

काठमाडौं, साउन १४ । जथाभावी खनिएका सडकका कारण मुलुकका ग्रामीण क्षेत्रका सडक अहिले अस्तव्यस्त छन् ।

गाउँ त गाउँ नै भयो । न कुनै इन्जिनियरिङ मापदन्ड, न कुनै योजना । विकासका नाममा जथाभावी खनिएका सडकका कारण नागरिकले सास्ती खेप्नुपरेको छ । यी त दूरदराजका कुरा हुन् ।

तर, राजधानी काठमाडौंकै सडकको अवस्था पनि दयनीय बनेका छन् ।

केही महिनाअघि प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं उपत्यकाभित्रका सडकमा कुनै खाल्डाखुल्डी देखिए आफूलाई खबर गर्न सार्वजनिक मञ्चबाटै आह्वान गरेका थिए ।

तर, अहिले राजधानीका धेरै सडकले प्रधानमन्त्री ओलीको आह्वानलाई गिज्याइरहेको भान हुन्छ ।

भित्रि सडकमात्र होइन, मुख्य भनिएकै सडक पनि जोखिमपूर्ण बनेका छन् । जताततै खाल्डाखुल्डीमात्रै देखिन्छन् ।

बढ्दो सवारी–साधनको चाप र जनघनत्वका कारण सडकको अवस्था विकराल बन्दै गएको छ । असारे विकासका नाममा टालिएका सडक एक महिना नपुग्दै भत्किएका छन् ।

सडकमा ठूला खाल्डाखुल्डीमात्र परेका छैनन्, ती खाल्डाखुल्डीमा पानी र हिलो जमेर यात्रा गर्नै सास्ती भएको छ ।

प्रधानमन्त्री ओलीले ‘खाल्डाखुल्डी देख्नुभयो भने खबर गर्नोस्’ भनेको धेरै भएको छैन । तर, उनले बोलेको केही दिनमै सडकमा यसरी खाल्डाखुल्डी देखापरेकी त्यो भनेर साध्यै छैन ।

पैदल हिँड्ने र सवारी चलाउने दुवैलाई यस्ता खाल्डाखुल्डीले सास्ती व्यहोर्नुपरेको छ । अझ रातिको समयमा सवारी चलाउँदा त कतिबेला के हुने हो भन्न सक्ने अवस्था नै छैन ।

सडकमा परेका यस्ता खाल्डाखुल्डीले सहरलाई कुरुप बनाएको छ नै प्रधानमन्त्रीको अभिव्यक्तिलाई पनि खिल्ली उडाएको छ ।

सरकारले भ्रष्टाचार नियन्त्रण गर्ने घोषणा पटक–पटक गरिरहेको छ । तर, सडक मर्मत गर्ने नाममा टालटुल गरेर ठूलो आर्थिक अनियमितता गर्नेहरुलाई भने अहिलेसम्म छुन सकेको छैन । यसले राज्य संयन्त्रकोसमेत खिल्ली उठाएको छ ।

भिडियो हेर्नुहोस्