
काठमाडौं, साउन १३ । न्याय परिषद्को बैठकले उच्च अदालत र जिल्ला अदालतमा कार्यरत् चार न्यायाधीशमाथि छानबिन गर्न समिति गठन गर्ने निर्णय गरेको छ ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको अध्यक्षतामा सोमबार बसेको परिषद्को बैठकले क्षेत्राधिकारविहीन मुद्दामा अन्तरिम आदेश गरेका उच्च अदालत पोखराका तीन न्यायाधीश र काठमाडौं जिल्ला अदालतमा कार्यरत् एक न्यायाधीशमाथि छानबिन गर्न समिति गठन गरेको परिषद्का प्रवक्ता मानबहादुर कार्कीले जानकारी दिए ।
क्षेत्राधिकारविहीन मुद्दामा अन्तरिम आदेश गरेका उच्च अदालत पोखराका न्यायाधीश जीवनहरि अधिकारी, रामचन्द्र यादव र नरबहादुर शाहीमाथि अध्ययन गर्न सर्वोच्च अदालतका न्यायाधीश सपना मल्ल प्रधानको नेतृत्वमा छानबिन समिति गठन गर्ने निर्णय गरेको छ ।
क्षेत्राधिकार नै नभएको एक निजी कम्पनीको अन्तःशुल्क विवादमा तीन न्यायाधीशलाई काजमा परिषद्मा झिकाउने निर्णय गरेको छ ।
त्यस्तै, जिल्ला अदालतका न्यायाधीश अर्जुन कोइरालामाथि छानबिन गर्न परिषद्ले सर्वोच्चका न्यायाधीश तेजबहादुर केसीको नेतृत्वमा समिति गठन गरेको छ ।
काठमाडौं जिल्ला अदालतमा रहेका कोइरालाले ललितपुर जिल्ला अदालतमा हुँदा एक मुद्दामा गरेको निर्णय विवादमा परेको थियो ।
तीन मुख्य न्यायाधीशको सरुवा
न्याय परिषद्को सोमबार बसेको बैठकले तीन मुख्य न्यायाधीशलाई सरुवा गर्ने निर्णय गरेको छ ।
पाटन उच्च अदालतका मुख्य न्यायाधीश कुमार चुँडाललाई उच्च अदालत सुर्खेत, सुर्खेत उच्च अदालतका मुख्य न्यायाधीश रमेश पोखरेललाई उच्च अदालत तुलसीपुर र तुलसीपुर उच्च अदालतका मुख्य न्यायाधीश नहकुल सुवेदीलाई उच्च अदालत पाटनको मुख्य न्यायाधीशमा सरुवा गर्ने निणय भएको हो ।
बैठकले पाटन उच्च अदालतका न्यायाधीश तेजबहादुर कार्कीलाई सैनिक अदालतको अध्यक्ष तोक्नका लागि सिफारिस गर्ने निर्णय गरेको छ । रासस
प्रतिक्रिया दिनुहोस्