
गुल्मी, साउन १२ । गुल्मीको सत्यवतीमा पहिरोबाट प्रभावित स्थानीयलाई पुनर्बास गराउन लगत लिने र ठाउँ खोज्ने काम शुरु भएको छ ।
गत मंगलबार राति सो गाउँपालिकाका दुई स्थानमा गएको पहिरोबाट ३०७ घर परिवार प्रभावित भएका छन् । सत्यवती गाउँपालिकाको वडा नम्बर ३ र ४ को ठूलो लुम्पेक र लिम्घा गाउँमा पहिरोले एक हजार २६० जना प्रभावित भएको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले जानकारी दिए ।
प्रभावितमध्ये १७ वटा घर, ६१ वटा गोठ र ३६ वटा शौचालय पूर्ण रुपमा क्षति भएको, १८ वटा घर, २३ वटा गोठ र १८ वटा शौचालयमा आंशिक क्षति पुगेको प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिए ।
पहिरोबाट २८ वटा भैंसी, एउटा गाई, ६७ वटा बाख्रा र १९ वटा बंगुर तथा २१९ वटा कुखुरा क्षति भएको प्रारम्भिक तथ्यांक संकलन भएको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ । विस्थापितहरुलाई सोही गाउँपालिकाको धर्मपुर माध्यामिक विद्यालय, नवबिहानी प्राथमिक विद्यालय, धर्मपुर प्राथमिक विद्यालय, राम माध्यामिक विद्यालय, मनकामना प्राथमिक विद्यालय र साजपूर प्राथमिक विद्यालयमा राखिएको छ ।
ठूलो लुम्पेकमा मात्रै २ किलोमिटरको दूरीमा साना–ठूला गरेर ५०५ वटा पहिरो गएका छन् । पहिरोमा परेर ठूलो लुम्पेक र लिम्घामा तीन वटा घरका १३ जना र कालिगण्डकी गाउँपालिकाको वडा नम्बर ७ को छापचौरमा १ जना गरी १४ जनाको मृत्यु भएको छ ।
प्रतिक्रिया दिनुहोस्