
प्रतीक्षा खनाल र भरत केसी (इमेज)
काठमाडौं, साउन १० । आफूले प्रयोग गर्न छाडेका कपडाको व्यवस्थापन कसरी गर्दै हुनुहुन्छ ?
यदि, काठमाडौंवासी हुनुहुन्छ र वैकल्पिक उपाय नभएर पुराना कपडा त्यसै थन्किएका छन् भने ‘कपडा बैंक’मा जम्मा गर्न सक्नुहुन्छ ।
‘हन्ड्रेड्स् ग्रुप’ले काठमाडौंको अनामनगरमा कपडा बैंक अभियान सुरु गरेको छ । यो अभियानमा आफ्ना पुराना तर लगाउनयोग्य कपडादान गर्न सकिन्छ ।
गरिब वा आवश्यक परेका व्यक्तिले विनाशुल्क त्यहाँबाट कपडा लिएर जान सक्छन् ।
अनामनगरबाट केही दिनअघि सुरु गरिएको यो ‘बैंक’ काठमाडौंका अन्य स्थानमा पनि सन्चालन गर्ने प्रक्रियामा रहेको ग्रुपका सदस्य बताउँछन् ।
कपडा बैंकको चर्चा बढिरहँदा कपडासँगै अन्य उपभोग्य सामग्री पनि ‘बैंक’मा जम्मा हुन थालेका छन् ।
आफूले प्रयोग गर्न छाडेका कपडा गरिबसम्म पुर्याउने माध्यमस्वरुप सुरु गरिएको यो ‘बैंक’लाई कपडा जम्मा गर्नेदेखि पुनः प्रयोग गर्ने सबैले रुचाएका छन् ।
‘बैंक’ सन्चालनसँगै केही चुनौती पनि देखिएका छन् । कपडा लिन आउनेभन्दा जम्मा गर्नेको संख्या धेरै हुनु एउटा प्रमुख चुनौती हो ।
विदेशमा यस्ता कपडा बैंक प्रचलनमा रहे पनि नेपालका लागि भने यो नौलो हो ।
यस्तो अभियानले समाजबाट सकारात्मक प्रतिक्रिया पाइरहँदा जम्मा भएका सामानको उचित व्यवस्थापन भने चुनौतीपूर्ण हुनसक्छ ।
प्रतिक्रिया दिनुहोस्