
नुवाकोट, साउन १० । जिल्ला अस्पताल नुवाकोटको लापरबाहीका कारण एक सुत्केरीको मृत्यु भएको भन्दै मृतकका आफन्त र स्थानीयले अवरुद्ध पारेको सडक शुक्रबार दिउँसोदेखि खुलेको छ ।
उनीहरुले नुवाकोटको बेलकोटगढी नगरपालिकाको रातमाटे, महादेव फाँटलगायतका स्थानमा सडक अवरुद्ध पारेका थिए ।
बच्चाको नाममा तारकेश्वर गाउँपालिकाबाट एक लाख, अस्पताल विकास समितिबाट ५० हजार रुपैयाँ र प्रशासन कार्यालयबाट थप रकम जुटाउन पहल गर्ने सहमति भएपछि सडक अवरोध हटेको हो ।
अस्पताल विकास समितिले छानबिन समिति बनाइ घटनाको समीक्षासहित दोषीलाई कारबाही गर्ने, आगामी दिनमा कमजोरी हुन नदिने प्रतिबद्धता जनाएको छ ।
यस्तै, विदुर नगरपालिकाले बिरामीलाई काठमाडौं लैजाँदा लागेको हेलिकोप्टर भाडासमेत व्यहोर्ने सहमति भएको छ ।
सुत्केरी गराउन त्रिशूलीस्थित जिल्ला अस्पताल भर्ना भएकी बेलकोटगढी नगरपालिका–७, रातमाटेकी ३५ वर्षीया गोमा वस्तीको बिहीबार अत्यधिक रक्तश्रावका कारण मृत्यु भएको थियो ।
वस्ती सुत्केरी भइ अस्पतालले थप उपचारका लागि नवजात शिशुलाई काठमाडौं पठाएपनि आमा सामान्य छिन् भन्दै अस्पतालमै राखेको थियो ।
अस्पतालले अन्तिम समयमामात्र अत्यधिक रक्तश्राव भएको जानकारी परिवारलाई दिँदै उपचारका लागि काठमाडौं लैजान सुझाव दिएको थियो ।
अस्पतालले ढिलागरी ‘रिफर’ गरेपछि ‘हेलो सरकार’मा फोन गरी हेलिकोप्टरको व्यवस्था गरिदिन पीडितले आग्रह गरेका थिए ।
तर, नुवाकोट सुगम जिल्ला भएको भन्दै हेलो सरकारले हेलिकोप्टर पठाउन अस्वीकार गरेको थियो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, जिल्लाका सांसदलगायतलाई घटनाबारे जानकारी गराउँदासमेत सुनुवाइ नभएको आफन्तको गुनासो गरेका छन् ।
सरकारी तबरबाट हेलिकोप्टरको व्यवस्था नभएपछि आफन्तले आफैं हेलिकोप्टर खोजेर काठमाडौंको त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा पुर्याउनेबित्तिकै गोमाको मृत्यु भएको थियो ।
प्रतिक्रिया दिनुहोस्