
नुवाकोट, साउन १० । जिल्ला अस्पताल नुवाकोटको चरम लापरवाहीका कारण सुत्केरीको मृत्यु भएको भन्दै मृतकका आफन्त र स्थानीयले सडक अवरुद्ध पारेका छन् ।
बेलकोटगढी नगरपालिका–७ रातमाटेकी गोमा वस्तीको अस्पतालको लापरबाहीका कारण मृत्यु भएको भन्दै मृतकका आफन्त र स्थानीयले सडक अवरुद्ध पारेका हुन् ।
वेलकोटगढी नगरपालिकाको रातमाटे, महादेव फाँटलगायतका स्थानमा स्थानीय र मृतकका आफन्तले सडक अवरुद्ध गरी दोषीलाई कारबाही गर्न माग गरेका छन् । सुत्केरी गराउन त्रिशूलीस्थित जिल्ला अस्पताल भर्ना भएकी गोमाको अत्यधिक रक्तश्रावका कारण मृत्यु भएको हो ।
अस्पतालले अन्तिम समयमा मात्र अत्यधिक रक्तश्राव भएको जानकारी परिवारलाई दिँदै उपचारका लागि काठमाडौं लैजान सुझाव दिएको थियो । अस्पतालले ढिला गरी रिफर गरेपछि हेलो सरकारमा फोन गरी हेलिकप्टरको व्यवस्था गरिदिन पीडितले आग्रह गरेका थिए । तर, नुवाकोट सुगम जिल्ला भएको भन्दै हेलो सरकारले हेलिकप्टर पठाउन अस्वीकार गरेको थियो ।
प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय, जिल्लाका सांसदलगायतलाई घटनाबारे जानकारी गराउँदासमेत सुनुवाइ नभएको आफन्तको गुनासो छ ।
सरकारी तबरबाट हेलिकोप्टरको व्यवस्था नभएपछि आफन्तले आफैं हेलिकप्टर खोजेर काठमाडौंको शिक्षण अस्पतालमा पुर्याउने बित्तिकै गोमाको निधन भएको थियो ।
यता, जिल्ला अस्पताल नुवाकोटका चिकित्सक मधुकर दाहाल विरामीको शरीरबाट अत्याधिक रक्तश्राव हुँदा समस्या भएको स्वीकार गर्छन् ।
प्रतिक्रिया दिनुहोस्