
दुर्गा उपाध्याय
कञ्चनपुर, साउन १० । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको एक वर्ष पुरा भएको छ । यसबीचमा दर्जनभन्दा बढी टोलीबाट घटनाको अनुसन्धानका साथै ४ वटा प्रतिवेदन सार्वजनिक गरियो तर हत्यारा अझै रहस्यको गर्भमै छ ।
अनेकौँ दबाब दिँदा पनि दोषी पत्ता नलागेपछि पीडित परिवार भने घटनालाई भुल्ने प्रयास गरिरहेको छ ।
गत वर्ष साउन १० गते साथीको घरमा गृहकार्य गर्न गएकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको एक वर्ष पुरा भएको छ । गत वर्ष साउन ११ गते घर नजिकैको उखुबारीमा उनको शव फेला परेको थियो ।
उक्त घटना देशव्यापी रुपमा चर्चा र चासोको विषय बन्यो । आन्दोलनकै क्रममा कञ्चनपुरका शनि खुनाको ज्यान गयो भने एक दर्जन बढी घाइते भए । घाइतेमध्ये अर्जुन भण्डारीको अवस्था अहिले पनि चिन्ताजनक छ ।
लामो समय बितिसक्दासम्म अपराधी पहिचान गर्न नसकेपछि निर्मलाको न्यायका लागि गरिएका दबाबमूलक कार्यक्रम पनि सेलाएका छन् । निर्मलाकी आमा दुर्गादेवी बाँकी दुईटी छोरीको भविष्य हेर्दै राहत रकम बुझेर आफ्नो दैनिक कामकाजमा फर्किएकी छन् । उनी अहिले भीमदत्त नगरपालिकाको महिला शाखामा कार्यालय सहयोगीका रुपमा दैनिक चार सय रुपैयाँका दरले डोरहाजिरमा काम गरिरहेकी छन् ।
घटनास्थलको मुचुल्का नउठाएर एउटा गल्ती गरेको प्रहरीले अनुसन्धानका क्रममा हल्लाको पछाडि लाग्दा अपराधी पत्ता नलागेको उनको भनाइ छ ।
निर्मलाको न्यायका लागि आन्दोलनमा लागेका छिमेकीको तर्क भने बेग्लै छ । दुर्गादेवी नै प्रमाण नष्ट गर्ने प्रहरीको बचाउमा लागेका कारण हत्यारा उम्किएको उनीहरु दाबी गर्छन् । तत्कालीन प्रहरी प्रमुख एसपी डिल्लीराज विष्टसहित ८ जना प्रहरीको बचाउमा दुर्गादेवीले आफैले दिएको उजुरी तीन महिनापछि फिर्ता लिएपछि छिमेकी असन्तुष्ट बनेका थिए । निर्मला हराएको दिनदेखि सहयोग गरिरहेका छिमेकीले अहिले प्रहरीसँग मिलेर दुर्गादेवीले छोरीको हत्यारालाई बचाउ गरेको आरोप लगाउन थालेका छन् ।
यता, कञ्चनपुरका प्रहरी उपरीक्षक दिनेश कुमार आचार्य निर्मलाको हत्यारा खोजी गर्ने कार्यलाई महत्वका साथ अगाडि बढाइएको दाबी गर्छन् । विगतका अनुसन्धानलाई पनि परीक्षण गर्दै थप अनुसन्धान गरिरहेको उनको भनाइ छ ।
अनुुसन्धानका क्रममा स्थानीय दीलिपसिंह विष्टलाई अभियुक्तका रुपमा पक्राउ गरियो र पछि डीएनए परीक्षण नमिलेपछि उनी छुटे । घटनाको एक वर्षसम्म सिआइबिका ४ टोलीसहित एक दर्जन टोलीको अनुसन्धान र ४ वटा प्रतिवेदनबाट पनि दोषी किटान हुन सकेको छैन ।
निष्पक्ष अनुसन्धानबाट वास्तविक अपराधी पत्ता लगाई कानुनको डण्डा लगाए मात्र निर्मलाको आत्माको शान्ति र परिवारको घाउमा मल्हम लाग्नेछ ।
प्रतिक्रिया दिनुहोस्