३ श्रावण २०८२, शनिबार | Sun Jul 20 2025


प्रहरीको काम, कर्तव्य र अधिकार शीर्षकको दफामा छलफल


0
Shares

काठमाडौं, साउन ९ । प्रतिनिधिसभाअन्तर्गत्को राज्य व्यवस्था तथा सुशासन समितिमा बिहीबार पनि नेपाल प्रहरी, प्रदेश प्रहरीले सम्पादन गर्ने कार्यको सन्चालन, सुपरीवेक्षण र समन्वय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको दफावार छलफल जारी रह्यो ।

सिंहदरबारमा बसेको समितिको बैठकमा नेपाल प्रहरीको काम, कर्तव्य र अधिकार शीर्षकको दफामा छलफल भएको हो ।

विधेयकमा नेपाल प्रहरीले मुलुकमा शान्ति–सुरक्षा कायम राख्ने, अपराध नियन्त्रण गर्नेदेखि सरकारले समय–समयमा तोकेका कार्यहरु गर्नेसहित २५ बुँदे अधिकारको व्यवस्था गरिएको छ ।

विधेयकमा सरकारले तोकेका महत्वपूर्ण व्यक्ति, स्थान, निकाय, राष्ट्रिय महत्वका आयोजना, अन्तर्राष्ट्रिय विमानस्थल, राष्ट्रिय राजमार्ग, तथा विदेशी कूटनीतिक नियोगको सुरक्षा गर्ने अधिकार प्रहरीको हुने व्यवस्था गरिएको छ ।

यस्तै, विधेयकमा निजी क्षेत्रको सुरक्षा सेवा प्रदान गर्ने निकाय तथा सुरक्षाकर्मीले अपनाउनुपर्ने मापदन्ड निर्धारण गरी कार्यान्वयन गर्ने/गराउने अधिकार पनि नेपाल प्रहरीलाई दिइएको छ ।

छलफलमा गृहमन्त्री रामबहादुर थापा, गृहसचिव प्रेमकुमार राई, नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाललगायत पनि सहभागी थिए ।